नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा तीनजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक रमेश बोहराका अनुसार नेपाल–भारत सीमा दशगजानजिकै पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका– ५ चमनटोलाबाट दुईजना भारतीयसहित एकजना नेपाली नागरिकलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका– २ हाटबजार टोल बस्ने २१ बर्षीय कलिम मियाँ, भारतको देवरिया जिल्लाा बरहजवा थाना करजहा बस्ने २६ वर्षीय अरुण मल र भारतकै महाराजगन्ज थाना कोतवाली ग्राम दुबौलीटोला छोटी पकडी नौनिया बस्ने २८ वर्षीया शैलेश बर्मा रहेका छन् ।
सीमा क्षेत्रमा कलिम मियाँले दुईजना किशाेरीलाई भारतीय नागरिक अरुण र शैलेशको जिम्मा लगाइरहेको अवस्थामा प्रहरीले शंका लागेपछि साेछपुछ गर्ने क्रममा पक्राउ गरिएको हो । प्रहरीले सोधपुछ गर्ने क्रममा ती दुई किशोरीले आफूलाई ललाइफकाई प्रलोभनमा पारेर भारतको गोरखपुरतर्फ लैजान लागेको बताएका थिए ।
उनीहरूको साथबाट प्रहरीले लु.१८प ५२६९ नम्बरको मोटरसाइकल र युपी ५३ डिबी ४८३२ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।
पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत परासीबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाएको प्रहरी नायब उपरीक्षक रमेश बोहराले बताए ।

