back to top

नमूना औद्योगिक ग्राम निर्माण सुरु

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ मा नमूना औद्योगिक ग्राम निमार्णको काम सुरु भएको छ ।

खजुरा खोला नजिक १७ बिघा १७ कठ्ठा क्षेत्रफलमा करिब रु १९ करोडको लागतमा नमूना औद्योगिक ग्राम निर्माण सुरु भएको हो ।

औद्योगिक ग्रामको एक समारोहबीच आज उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र उद्योगपति एवं सङ्घीय सांसद विनोद चौधरीले संयुक्तरूपमा शिलान्यास गरे । सो अवसरमा मन्त्री रिजालले सरकार निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्न तयार रहेको बताए ।

उनले समयसापेक्ष सरकारले औद्योगिक नीतिनियम प्रभावकारी बनाउँदै लैजाने जिकिर गरे । सांसद चौधरीले एसएमई भिलेज उद्यमशीलताको नमूना बन्ने र नवलपरासीका युवालाई उद्यमी बनाउन यस परियोजनाको ठूलो महत्व रहने बताए ।

नेपाल सरकारको २०७७/७८ को नीति तथा कार्यक्रमअनुसार देशका कुल एक सय ३० पालिकामा नमूना औद्योगिक ग्राम निर्माण गर्ने योजनाअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाटमा जिल्लाकै पहिलो नमूना औद्योगिक ग्राम निर्माण थालिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालु आर्थिक वर्षमा उक्त ग्राम निर्माणको काम अघि बढाउन तत्कालका लागि कुल रु चार करोड विनियोजन गरेको थियो ।

मन्त्रालयले प्रारम्भिक चरणको काम अघि बढाउन आह्वान गरेको बोलपत्रअनुसार सो कार्य गर्न रु दुई करोड ९३ लाखमा रिलायन्स बिल्डर्स एण्ड सप्लायर्स जेभीले जिम्मा पाएको छ ।

प्रथम चरणको कार्य आगामी महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको रिलायन्स बिल्डर्स एण्ड सप्लायर्स जेभीमा कार्यरत प्राविधक रवीन्द्र शाहले जानकारी दिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको विशेष आर्थिक क्षेत्र प्राधिकरणले उक्त नमूना औद्योगिक ग्राम निर्माणको आवश्यक सहजीकरण गर्दै आएको छ ।

उद्योग ग्रामभित्र स्थापना हुने साना तथा मझौला उद्योगका लागि उद्योग परिसरमा आवश्यकतानुसार भौतिक पूर्वाधार, उत्पादन र प्रदर्शनीस्थल, फोहर प्रशोधन केन्द्र, सञ्चार, सडक, बिजुली, नाला तथा आवश्यक औद्योगिक विभिन्न संरचना निर्माण हुनेछन् ।

उद्योगग्राममा कुल ९० ‘प्लट’मा साना घरेलु तथा मझौला उद्योग सञ्चालन हुनेगरी उद्योगका लागि आवश्यक सबै संरचना निर्माण गर्ने आगामी योजना छ । उक्त नमूना औद्योगिक ग्राम क्रमागतरूपमा निर्माण हुँदै जानेछ ।

मन्त्रालयले नमूना औद्योगिक ग्रामका रूपमा निर्माण गर्ने भए पनि यस ग्रामको सञ्चालन तथा व्यवस्थापन बर्दघाट नगरपालिकाले गर्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?