काठमाडौं । हरियाणाको सोनीपतको मामा भञ्जा चोकमा बहलगढबाट आउँदै गरेको तीव्र गतिको फोर्ड इको स्पोर्ट्स कारले साइकल र स्कुटरमा घर फर्किएका नेपालका पाँच युवालाई पछाडिबाट ठक्कर दिँदा ४ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ४ युवाको घटनास्थलमै मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन्। कारमा सवार तीन युवक पनि गम्भीर घाइते भएका छन् । यो दुर्घटनाको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको छ। भिडियोमा घटना निकै भयानक देखिएको छ ।
भारतीय मिडियाले प्रहरीबाट प्राप्त गरेको जानकारी अनुसार यस दुर्घटनामा ज्यान गुमाएका युवाको सनाखत भएको छ। मृत्यु हुने युवाको नाम खिलाबहादुर मगर अमर र कमलबहादुर खत्री रहेका छन् ।
उनीहरु नेपालको ओखलढुंगाको मोलुङ गाउँपालिका–४ का हुन् । अन्य दुइ मृतक दलबहादुर रायमाझी अर्घाखाँची र अर्जुन सुनुवार सर्लाहीका हुन्। उनीहरुका एक साथी दिलबहादुर गम्भीर घाइते भएका छन् । उनी पनि ओखलढुंगाकै हुन् । कारमा सवार युवा ऋतिक, मोहित र अरुण पनि गम्भीर घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारको लागि रोहतक पीजीआईमा रिफर गरिएको छ । सबैजना नेपालीहरू वेटरको काम गरेर परिवारको गुजारा चलाउने गर्दथे । घटनाको राति अबेरसम्म एउटा कार्यक्रमबाट घर फर्कदै गर्दा यो दुर्घटना भएको हो । दुर्घटना हुँदा चालकले मादक पदार्थ सेवन गरी तीव्र गतिमा गाडी चलाएका थिए ।