back to top

ल्हारक्याल लामाले रामग्राममा भ्रष्ट्राचारको तानाबाना बुनेका छन् : ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनीको रामग्राम स्तूप निजी कम्पनीलाई दिन लागिएको भन्दै आपत्ति जनाएका छन् ।

शनिवार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनीको विकास नभई रामग्राम परियोजना बनाएर भ्रष्ट्राचारको तानाबाना बुनेको आरोप लगाएका छन् ।

सम्राट अशोकले २३ सय वर्षअघि नखोलेको रामग्राम अहिले खोल्ने काम भएको बताउँदै उनले देश विकास, समृद्धिका लागि भन्दा पनि आफ्नो व्यक्तिगत समृद्धिका लागि त्यसको योजना बनाएका दाबी गरे ।

रामग्राम विश्व सम्पदा सूचीमा पर्नुपर्ने ठाउँ रहेको, त्यहाँका एउटा इँटाको महत्त्व रहेको बताउँदै यूनेस्कोको सहमतिबिना त्यहाँ केही गर्न नपाइने बताए ।

अध्यक्ष ओलीले भने– “एउटा कम्पनी खोल्यो, वरिपरिका सयौँ बिघा जग्गा सस्तोमा किन्यो, त्यसको वरिपरि होटल बनाउने वा त्यो जग्गा महँगोमा बेच्ने यस्ता उद्देश्यले काम गरियो । बैंकको लकरमा राखेको सम्पतिमा गोली भेटिने, बुद्धमार्गी, शान्तिमार्गी लामाजी, बुलेट भनेको थाहा होला नी, बुलेट भनेको कुनै औषधी होइन, बुलेटले केही पनि बचाउँदैन, बुलेटले मार्ने विनास गर्ने काम मात्र गर्छ, अङ्गभङ्ग गर्ने काम गर्छ । बैंकको लकरमा बुलेट, पेस्तोल खोइ ? बिना पेस्तोलको बुलेट मात्र बोकेर हिँड्दैन कसैले । पेस्तोल खोइ ? खोजी भएन । त्यस्ता व्यक्तिलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाइयो । किन बनाइयो भनेर आश्चर्य लागेको थियो । पछि थाहा पाइयो लुम्बिनीको विकास हैन, रामग्रामबाट विकास सोझ्याउने यो धन्दा पो रहेछ ।”

उनले पुरातत्त्व विभागका कर्मचारीलाई जागिर खाने काम मात्र नगरी पुरातात्त्विक महत्वका सामग्रीको रक्षा गर्न आग्रह गरे ।

रामग्राम विश्व सम्पदा सूचीमा पर्ने कुरा भएको बताउँदै उनले यसमा अरबौँको परियोजनामा पैसा कसको लगानी हुने भन्ने प्रश्न गर्दै आफूले ताइवानी पैसा लगानी हुने सुनेको बताउँदै ठुलो भ्रष्ट्राचार तानाबाना बुनिएको दाबी गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?