लुम्बिनी प्रदेशसभा सदस्य यादव भ्रष्टाचार मुद्दामा मुछिएपछि निलम्बित

दाङ । लुम्बिनी प्रदेशसभा सदस्य जानकी प्रसाद यादव सांसद पदबाट निलम्बन भएका छन् । यादव विरुद्ध भ्रष्टाचार मुद्दा परेपछि प्रदेशसभाले उनलाई सांसद पदबाट निलम्बन गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादव समेतलाई विपक्षी बनाई भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा हालेको छ। वन पैदावारको हानी नोक्सानी गरि भ्रष्टाचार गरेको आरोप यादव माथि छ ।

कपिलवस्तुको गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिले कटान गरेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको आरोप अख्तियारले उनी माथि लगाएको छ ।

गत ८ गते अदालतमा मुद्दा दायर गरेको आयोगले यादवलाई सांसद पदबाट निलम्बन गर्न प्रदेशसभालाई परिपत्र गरेको थियो। सोही परिपत्रका आधारमा यादवलाई सांसद पदबाट निलम्बन गरिएको प्रदेशसभाले जनाएको छ ।

हाल अदालतमा विचाराधीन रहेको मुद्दा किनारा नलागे सम्मका लागि यादवलाई निलम्बन गरिएको प्रदेशसभाले जनाएको छ ।

राप्रपाका यादव कपिलवस्तु निर्वाचन क्षेत्र ३ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए। यादव नेकपा यसअघिको एमाले नेता लिला गिरी नेतृत्वको सरकारका उद्योग पर्यटन तथा यातायात व्यवस्थामन्त्री समेत बनेका थिए ।

अख्तियारले सांसद यादव सहित १९ जना विरुद्ध मुद्दा दायर गरेको छ। उनीहरूले काठ लुकाएर विक्री गरि २९ लाख १२ हजार १ सय ९३ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ