पाल्पामा यस वर्ष ४६ करोड भन्दा बढीको सुन्तलाको व्यापार

पाल्पा । जिल्लामा यस वर्ष सुन्तला बिक्रीबाट ४६ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ । यसवर्ष उत्पादन घटे पनि मूल्य बढी पाएकाले कारोबार बढेको छ । गत वर्ष ४३ करोड ३५ लाखको सुन्तलाको कारोबार भएको कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त कार्यालय प्रमुख तथा कृषि प्रसार अधिकृत सन्तोष कुमार चौधरीले जानकारी दिए ।

‘यसवर्ष सुन्तला उत्पादन कम भए पनि बजार भाउ राम्रो पाउँदा कारोबार बढेको छ,’ उनले भने, ‘अघिल्लो वर्षको तुलनामा पातलो फलेको थियो तर भाउ भने पाउन सफल भयो ।’ जिल्लामा गत वर्ष नौ हजार ३१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

यस वर्ष भने ८ हजार ८ सय ६१ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । किसानले गत वर्ष सरदरमा प्रतिकिलो ४० देखि ४६ रुपैयाँ मुल्य पाएका थिए । यसवर्ष भने ५५ देखि ६० रुपैयाँको अनुपातमा सुन्तला बिक्री गरेको ज्ञान केन्द्रले जनाएको छ ।

‘उत्पादनमा यस वर्ष थोरै परिमाणमा ह्रास आए पनि बजारमा राम्रो भाउ पाएको छ,’ निमित्त प्रमुख चौधरीले भने, ‘फुल खेल्ने समयमा पर्याप्त पानी नपर्दा पातलो फलेको थियो ।’ किसानले सुन्तला किन्ने व्यापारीलाई बारीमा बोलाएर गत कार्तिकदेखि नै निकासी सुरु गर्छन् ।

सुन्तला जोन सञ्चालक समितिका संयोजक नित्यानन्द पोखरेलका अनुसार रैनादेवी छहराको चार वटा वडाबाट मात्र १० करोड बढीको सुन्तला बाहिर निकासी गर्छ । यस क्षेत्रका अधिकांश किसानले सुन्तला बिक्रीबाट कम्तीमा ५० हजारदेखि २० लाख रुपैयाँसम्म आम्दानी गर्ने उनले बताए ।

‘किसानलाई आवश्यक प्राविधिक सीप हो,’ उनले भने, ‘यसका लागि संघ, प्रदेश र स्थानीय तहले व्यवस्थापन गर्नुपर्छ । किनभने सुन्तलाका लागि प्राविधिक खटाउने व्यवस्था छैन ।’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुन्तला जोन संचालन गरेको छ । तर यहाँ पनि पर्याप्त प्राविधिक छैनन् ।

जसले गर्दा सामग्री दिने भए पनि अन्य ज्ञानको अभाव छ । कतिपय स्थानमा सुन्तलाका बोट मरेको छ तर प्राविधिक ज्ञान नभएपछि उपचार गर्ने भन्दा पनि निकालेर फाल्ने काम भएको उनले बताए । जिल्लामा १ हजार १ सय ४६ हेक्टर क्षेत्रफल जमिनमा सुन्तला खेती गर्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाको रैनादेवी छहरामा सबैभन्दा धेरै ४ सय ४६ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ । रिव्दीकोटमा ३ सय ९०, तानसेन नगरपालिकामा ६७, बगनासकालीमा १ सय ११ हेक्टरमा सुन्तला खेती गर्छन ।

त्यसैगरी पूर्वखोलामा ६०, माथागढीमा ११ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ । यहाँ स्थानबाट बुटवल, पोखरा, भैरहवा, चितवन, नारायणगढ, नेपालगञ्ज लगायतका स्थानमा सुन्तला निकासी हुनेगरेको रैनादेवी छहरा–५, मुझुङका युवा किसान विनोद कार्कीले बताए ।

अघिल्लो वर्षभन्दा केही पातलो फले पनि सुन्तलाको भाउ राम्रो पाउँदा खुसी लागेको उनले बताए । रैनादेवी छहरा–४, अमलावासका टिकाराम पोखरेलले यसवर्ष अघिल्लो वर्षको तुलनामा भाउ राम्रो पाएको बताए । उनका अनुसार थोरै मिहिनेतमा पनि राम्रो आम्दानी गर्न सकिने भएपछि पछिल्लो समय सुन्तला लगाउनेको संख्या थपिँदै गएको छ ।–कन्तिपुरबाट

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?