पर्यटन प्रवर्द्धनका लागि समन्वयमा जोड

जानकी । बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धनका लागि आवश्यक समन्वय हुनुपर्नेमा सम्बद्ध सरोकारवालाले जोड दिएका छन् ।

शुक्रबार निकुञ्ज परिसरमा गरिएको पर्यटन प्रवर्द्धनका लागि सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा होटल व्यवसायी, पर्यटन व्यवसायी, सञ्चारकर्मी, संरक्षण क्षेत्रमा लागेका व्यक्तिलगायतले एकापसमा समन्वय गर्न जोड दिएका हुन् ।

कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तिले आन्तरिक तथा बाह्य पर्यटकका लागि एयरपोर्ट र होटेल बसाइका लागि बर्दियाभन्दा बाँके राष्ट्रिय निकुञ्ज नै सबैभन्दा नजिक र पायक पर्ने स्थानमा भएको हुँदा बाँके निकुञ्जमा पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् ।

राप्ती सोनारी गाउँपालिका–८ का वडाध्यक्ष शालिकराम डाँगीले निकुञ्जमा अब पर्यटकलाई बढीभन्दा बढी भित्र्याउन आवश्यक रहेको बताएका थिए । पर्यटन प्रवर्द्धनका लागि सरोकार राख्ने निकायबीच समन्वय हुनुपर्नेमा उनले जोड दिए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले निकुञ्जका लागि केन्द्रीय सरकारको पर्यटन बोर्डले उल्लेखनीय लगानी नगरेको बताए । प्रदेश सरकारसँग पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम भए पनि खासै सहकार्य हुन नसकेको उनको भनाइ थियो ।

“निकुञ्जले ठोस पहल कदमी लिन सक्यो भने हामीले आंशिक रुपले सफलता प्राप्त गर्न सक्छौँ”, उनले भने, “हामीसँग धेरै नै महत्वकाङ्क्षी योजना छन् ।”

कार्यक्रममा फ्रेन्ड फर वाइल्डलाइफ कन्जरभेसनका राष्ट्रिय अध्यक्ष आशीष चौधरीले घरबासमा अग्र्यानिक कुरा प्रत्युत्पादन गर्न आवश्यक रहेको बताए ।

“निकुञ्ज भ्रमण गर्न आउने पर्यटक घरबासमा बस्न रुचाउँछन् । उनीहरुका लागि रैथाने र अग्र्यानिक परिकारले आकर्षित गर्न सकिन्छ”, उनले भने, “पर्यटनहरु भित्रने नेपालगञ्जको सीमानाका र एयरपोर्टलगायत ठाउँमा निकुञ्जको प्रचारप्रसारमा कमी भएको हुनाले यसको प्रचारप्रसारमा ध्यान दिन आवश्यक छ ।”

नेचर गाइड एसोसिएसन बाँकेका अध्यक्ष भीम डाँगीले निकुञ्जमा अझै पनि पूर्वाधार कमी रहेको बताएका थिए । “निकुञ्जभित्र पर्याप्त मात्रामा वनपथ, घाँसेमैदान, पोखरी छैनन्”, उनले भने, “चुरेको फेदीमा प्रशस्त पानी छ । त्यो पानीलाई व्यवस्थित गरेर त्यहाँसम्म बाटो पु¥याउन सकियो भने पर्यटकका लागि त्यो अत्ति नै आकर्षक र मनमोहक बन्न सक्छ ।”

रिम्ना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह ढकेरीका अध्यक्ष गोकुल ओलीले निकुञ्जसँगै सामुदायिक वनमा पनि पर्यटकलाई घुमाउने ठाउँ रहेको बताए । मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा पनि निकुञ्जले पर्यटकीय गतिविधि बढाउने खालका कार्यक्रम गर्नुपर्नेमा उनले सुझाव दिए ।

कार्यक्रममा बाँकेका घरबास व्यवसायी, होटल व्यवसायी निकुञ्ज सुरक्षार्थ नेपाली सेनाका गणपति उज्ज्वल थापा, विभिन्न मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका पदाधिकारी, मध्यवर्ती सामुदायिक वन समुहका पदाधिकारी, निकुञ्जका कर्मचारी, संरक्षणकर्मीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?