परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ को दुर्गम बस्तीमा बिजुली पुगेको छ । सुगम जिल्लाको विकट बस्तीकोरुपमा चिनिने बस्तीमा विद्युत पुग्दा स्थानीय खुसी भएका छन् ।
बिजुली नपुगेका पटुके, दमार, तिलकेनी, विहारी, पोखरीछाप लगायतका बस्तीहरुमा शुक्रबार देखि विद्युत सेवा पुगेको बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठले बताए ।
नेपाल विधुत प्राधिकरणको ५ करोडको लागतमा विद्युतीकरण गरिएको हो । २० औँ वर्षदेखि स्थानीयले विद्युतको माग गरेको भएपनि बल्ल बिजुली पुगेको हो । अहिले पहिलो पटक ७ वटा बस्तीका १ सय २८ घरधुरीमा मिटर जडान गरिएको विधुत प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियनका अध्यक्ष रामेश्वर प्रसाद पौडेलले बताए ।
गाउँमा बिजुली पुगेपछि स्थानीयलाई लघुउद्यम, कुटानि पिसानीका लागि घन्टौँ हिँडेर बजार जानुपर्ने बाध्यता हटेर जाने स्थानीयको आशा छ । यसअघि विद्युतीकरण नभएका सो क्षेत्रमा नगरपालिकाले सोलार बितरण गरेको थियो ।

