कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

बुटवल । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु गरेको छ । उक्त उद्योगले वैैशाख पहिलो हप्तादेखि दैनिक एक हजार लिटर महीको व्यावसायिक उत्पादन र बिक्रि सुरु गरेको हो ।

५० करोड लगानीमा ९ वर्ष अघि सञ्चालनमा आएको नेपालकै दोस्रो ठूलो डेरी उद्योगले नेपालमै पहिलोपटक बोतलिङ र लेभलिङ गरी महीको व्यवसायिक उत्पादन सुरु गरेको दाबी गरेको छ । उद्योगले एक लिटरको बोतलमा मही बजारमा ल्याएको छ ।

सुरुआती चरणमा कपिलवस्तुका २ वटा स्थानीय तहका बजार क्षेत्रमा दैनिक एक हजार लिटर मही बिक्रि भइरहेको उद्योगका सञ्चालक जनक न्यौपानेले बताए ।

‘बुद्धभूमि’ ब्रान्डमा बजारमा आएको महीको उपभोक्ता मूल्य ५० रुपैयां कायम गरेको छ । बोतल र स्टिकरमा मात्र १५ रुपैयाँ खर्च भएकाले उद्योगको प्रतिबोतल लागत ४० रुपैयाँ रहेको न्यौपानेले बताए ।

अहिलेलाई उत्पादन गरेको ५ दिनसम्म मही उपभोगयोग्य हुने उद्योगले जनाएको छ । ‘दैनिक उत्पादन हुने एक हजार लिटर मही ५ दिन अगावै बिक्रि भएको छ, बजारबाट एकदमै राम्रो रेस्पोन्स आएको छ’, न्यौपानेले भने ।

बजारमा पाइने बहुराष्ट्रिय र अन्य कम्पनीका चिसो पेय पदार्थको विकल्पमा उपभोक्ताले महीलाई राम्रो भनेर सकारात्मक प्रतिक्रिया आएपछि उत्साहित भएको न्यौपानेले बताए ।

महीको बिक्रि वितरण प्रदेशभर र भविष्यमा देशभर गर्ने लक्ष्यसहित खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट महीको छुट्टै अनुज्ञापत्र लिने प्रक्रिया अघि बढेको र लगानी थपेर काम गर्न लागेको उद्योगका अध्यक्ष थानेश्वर न्यौपानेले बताए ।

अन्य चिसो पेय पदार्थको तुलनामा मही मानव स्वास्थ्यका लागि फाइदाजनक रहेको लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. नन्दु पाठक बताउँछन् । भारतमा समेत मोहीको व्यवसायिक विक्रि भइरहेको भन्दै डा. पाठकले नेपालमा पनि यसलाई प्रवद्र्धन गर्नु राम्रो हुने सुझाए ।

महीको व्यवसायिक उत्पादन सफल भएमा किसानको दुध बिक्रि नहुने समस्या हट्ने उद्योगका अर्का सञ्चालक कमल न्यौपानेले बताए ।

हाल ५० हजार लिटर दुध बिक्रि गरिरहेको उद्योगले भविष्यमा धुलो (पाउडर) दुध उत्पादन र महीको उत्पादन बढाएर दैनिक एक लाख लिटर दुध व्यवस्थापन गर्ने योजना रहेको न्यौपानेले बताए ।

नारायणी पूर्वमा ७ वटा पाउडर दुग्ध उद्योग रहेका तर नारायणी पश्चिममा एउटा पनि पाउडर दुग्ध उद्योग नभएकाले सरकारले यसका लागि अनुमति दिनुपर्ने उनको माग छ ।

यो उद्योगका लुम्बिनी प्रदेशमा ८१ स्थानमा दुध संकलन केन्द्र सञ्चालनमा छन् भने १५ हजार किसान आबद्ध छन् । उद्योगले २ सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । –अनलाइन खबरबाट

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ