स्थायी आवास बनाइदिन इस्माका अग्निपीडितको माग

तम्घास । गुल्मीको इस्मा गाउँपालिकामा यही वैशाख ८ र ९ गते आगलागी हुँदा वडा नं. २ सिन्दुखा र वडा नम्बर ४ को हुल र कोटकोटेरीको सिङ्गो गाउँ सखाप भयो ।

आफ्नो घर–गोठ जलेपछि पीडित छिमेकीकोमा रात कटाए पनि उनीहरुले स्थायी आवासको व्यवस्था मिलाइदिन सरकारसँग माग गरेका छन् । इस्मा गाउँपालिका–४ दोहोली कोटकोटेरीका बिमला अधिकारीले छ वर्षअघि दुईतले घर बनाइन् ।

घर बनाउँदा लागेको ऋण तिर्न श्रीमान् परदेश गए । नयाँ घरमा छोराछोरीसहित बिमलाले जेनतेन गुजारा चलाइरहेकी थिइन् । तर बिमलाको परिवारलाई नयाँ घरमा धेरै समय बस्न भाग्यले दिएन । वैशाख ८ र ९ गते लागेको भीषण आगलागीले उहाँको घर र गोठ जलेर पूर्ण रुपमा नष्ट भयो ।

“घर जलेको खबर मैले श्रीमान्लाई भन्नै सकेकी थिइन्, तर नभनी पनि भएन”, उनले भनिन्, “ऋणमाथि बनाएको घरसँगै खुसी पनि जलेको छ ।” उनले अहिले पनि घर बनाएको ऋण भएको बताइन् ।

श्रीमान् रोजगारीका लागि रोमानिया गए पनि त्यहाँ सोचेजस्तो कमाइ नभएकाले अहिले तत्काल घरमा पैसासमेत पठाउन नसक्ने बताएको बिमलाले सुनाइन् । उनका छोराले एसइई दिएका छन् भने छोरी गाउँकै विद्यालयमा कक्षा ५ मा प्रथम भएकी थिइन् ।

तर छोरीले पाएको पुरस्कार पनि घरसँगै जलेको छ । बिमलाको परिवार अहिले छिमेकीको घरमा गुजारा चलाएर बसेको छ । “सधैँभरि छिमेकीकोमा बस्ने कुरा पनि भएन, सरकारले स्थायी आवास बनाइदिए राम्रो हुने थियो”, उनले भनिन् ।

सोही आगलागीमा परेर कोटकोटेरीको सुरेन्द्र विकको पनि घर जल्यो । छोराको परिवार एउटै घरमा दुई परिवार भएर बसेका थिए ।

छोरा–बुहारीले टेलरिङ पसल सञ्चालन गरेका थिए भने सुरेन्द्र र उनकी श्रीमतीले किराना पसल सञ्चालन गरेका थिए । त्यसबाट उनीहरुको जीविकोपार्जन भएको थियो । तर वैशाख ९ गतेको आगोले उनीहरुको घर, लत्ताकपडासँगै खुसी पनि जल्यो ।

पहिले गाउँमै व्यापार गरिरहेका विक परिवार अहिले आवासको खोजीमा छ । “भएको घर जल्यो, अहिले छिमेकीकोमा बसेर गुजारा चलाएका छौँ”, विकले भने, “हामीलाई जतिसक्दो छिटो स्थायी आवासको व्यवस्था भएमा पहिलेकै जिन्दगीमा फर्कने कोसिस गर्ने थियौँ ।”

कोटकोटेरीकै बलबहादुर दर्जीको पनि आगोमा परी दुई घर र एउटा गोठ जल्यो । अहिले छिमेकीको घरमा बस्दै आएका दर्जी आफू सानोमा पनि आगोमा परेर भाग्यले बाँचेको सम्झिए ।

अहिले पुनः आगोले घर जलेको छ । “अब बर्खा पनि सुरु हुन थाल्यो, जतिसक्दो छिटो स्थायी आवास भयो भने अलि राहत हुने थियो”, दर्जीले भने ।

बिमला, सुरेन्द्र र बलबहादुर त आगोले घर जलेर स्थायी आवास बनाइदिन अनुरोध गर्ने प्रतिनिधिमूलक पात्र मात्रै हुन् । उनीहरुजस्तै इस्माका अन्य अग्निपीडितले आफूहरुलाई अस्थायी आवासभन्दा स्थायी आवास नै बनाइदिन माग गरेका छन् ।

अहिले वर्षा भएको र थप वर्षा हुने समय पनि नजिकिएकाले उनीहरुले सकेसम्म वर्षाअघि नै नयाँ घर बनाउने विषयमा सहजीकरण गर्न सरकारसँग आग्रह गरेका छन् ।

आगोमा परेर इस्माका २६ घर र ४९ गोठ जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट दुईसयभन्दा बढी नागरिक प्रभावित भएका छन् । योबाहेक एउटै घरमा दुई परिवार भएर बसेका, गोठमा समेत परिवार बसेका गरी इस्मामा बढी मात्रामा क्षति भएको छ ।

इस्मा गाउँपालिकाले आगलागीबाट क्षति भएका संरचनाको उचित व्यवस्थापन र केही ठाउँमा अस्थायी आवास निर्माण गर्नको लागि प्रधानमन्त्री रोजगारका कामदारसमेत परिचालन गरेको थियो । त्यसका साथै जनप्रतिनिधि र कर्मचारीले समेत स्थानीयको सहयोगमा श्रमदान गरेका थिए ।

इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले घर निर्माणका लागि गाउँपालिकाले सङ्घ र प्रदेश सरकारसँगको लागत साझेदारीमा चार र गाउँपालिकाको रु एक लाख गरी पाँच लाख प्रदान गर्ने बताए । पालिकाले दिने रकमको सम्झौता समेत गरिएको छ ।

जसमा रु ५०/५० हजार गरी दुई किस्तामा रकम प्रदान गरिने छ । अध्यक्ष खड्काले अहिले आफूहरु विपद्मा रहेको भन्दै सक्दो सहयोग गर्न सबैसँग अपिल समेत गरे ।

अग्निपीडितको अवस्था अवलोकन गर्न पुगेका सोही क्षेत्रका संङ्घीय सांसद गोकर्ण विष्टले आफूहरुले पीडितको घर बनाउने गरी योजना बनाएको बताए । “वर्षाअगावै घर बनाएर पीडितलाई हस्तान्तरण गर्न लागिपरेका छौँ”, विष्टले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ