back to top

तरबुजा खेतीबाट मनग्य आम्दानी

घोराही । रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २६ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१ वर्षीय वीरेन्द्र वलीले दाङमा तरबुजाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन् ।

घोराही उपमहानगरपालिका–७ घुस्रामा ती युवा मिलेर बबई नदी किनारमा तरबुजाखेती गरेर मनग्य आम्दानी गर्दै आएका छन् । विगतमा बालुवैबालुवाले उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू खुसी भएको किसान खड्काले बताए ।

कृषि विषय अध्ययन गरेका उनले आफ्नै ठाउँमा कृषि पेसाबाट अगाडि बढ्ने बताए । उनले भने, “कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले छ वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यावसाय गर्दै आएको थिएँ, एकजना साथी थपिएपछि अहिले दुईजना मिलेर घोराहीमा व्यावसायिक तरबुजाखेती पनि सुरु गरेका हौँ ।”

यसबाट राम्रो आम्दानी भइरहेको उनले बताए । दाङ एग्रोमार्ट कृषि फार्ममार्फत व्यवसाय गर्दै आएका छन् । घुस्रामा चार बिघा र झिँगौरामा नौ कठ्ठा जग्गा रु ५० हजार तिर्ने गरेर तीन महिना अवधिको लागि जग्गा भाडामा लिएर तरबुजाखेती गरिरहेका छन् ।

अहिले सरस्वती र विशाला जातको तरबुजा रु ५० किलोका दरले र आरोही रु ७० किलोका दरले बिक्री गर्दै आइरहेको अर्का किसान वीरेन्द्र वलीले बताए । अहिले दैनिक सात–आठ सय किलो बिक्री हुन्छ ।

हालसम्म १४ हजार किलो बिक्री गरिसकेको उनले जानकारी दिए । तीन महिनाको अवधिमा रु १० लाखको कारोबार गर्ने र आधाभन्दा बढी रकम बचत गर्ने लक्ष्य रहेको उनले बताए ।

“सोचेभन्दा राम्रो आम्दानी भइरहेको छ”, किसान वलीले भने । अरुको देशमा जानुभन्दा स्वदेशमै आत्मनिर्भर हुनका लागि कृषि पेसा रोजेको हुँदा यसैलाई निरन्तरता दिने उनले बताए ।

उनले भने, “तर केही बजारीकरणमा समस्या भएको हुँदा सरकारले बाहिरी देशबाट आउने तरबुजालाई रोक्ने प्रयास गर्यो भने आफूलगायत अन्य किसानलाई सहज हुनेछ ।” कम विषादीयुक्त र जैविक उत्पादन गरिरहेकाले आम उपभोक्ताको रोजाइमा परेको उनले बताए ।

दाङ एग्रोमार्ट कृषि फार्ममा तरबुजा किन्न पुगेका घोराही उपमहानगरपालिका–१४ का अर्जुन गौतम गर्मीको समयमा यसको महत्व धेरै हुने भएकाले खान मन लागेको समयमा यही आएर लैजाने गरेको बताए ।

यहाँ आएर लैजाँदा ताजा, जैविक पाइने हुँदा स्वास्थ्यलाई फाइदा पुग्ने उनले बताए । बाहिरी देशबाट आएको खानुभन्दा आफ्नै गाउँठाउँमा उत्पादित वस्तु खान अन्य नागरिकलाई पनि उनले आग्रह गरे ।

यसअघि किसान वीरेन्द्र खड्काले घोराही उपमहानगरपालिका–१४ झिँगौरामा गरेको स्ट्राबेरीखेतीबाट रु १४ लाख बढीको कारोबार गरेका थिए ।

खेर गइरहेका बगरमा यसरी तरबुजाखेती गर्नसके स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भने सीप र जाँगर भए विदेशिनु पर्दैन भन्ने दरिलो उदाहरण युवा किसानले दिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?