घोराहीका किसानलाई अनुदानमा कृषियन्त्र

दाङ । कृषि उपजको उत्पादन वृद्धि गर्ने र लागत घटाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिकाले किसानलाई अनुदानमा कृषि औजार वितरण गरेको छ ।

पालिकाले पचास प्रतिशत अनुदानमा ३६ पावर टेलर, २० मिनी पावर टेलर, एउटा रोडाभेटर र दुई वटा थ्रेसर मेसिन उपलब्ध गराएको हो ।

कृषिमा यान्त्रिकरणको सहायताले उत्पादन बढाउने र किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले अनुदानमा कृषि औजार वितरण गरिएको घोराही उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख चोपनारायण खनालले जानकारी दिए ।

उनका अनुसार ५० प्रतिशत अनुदानमा विभिन्न उपकरणका साथै ८५ प्रतिशत अनुदानमा ११ वटा पम्पसेट र १२ वटा मोटर हस्तान्तरण गरिएको छ ।

दाङको घोराही–२ सुनपुरका तिलक चौधरीले गोरुको सहायताले १५ कट्ठा जमिन जोत्दै आएका थिए । यसअघि उनलाई खेती गर्न समस्या परेको थियो ।

एकातिर गोरुको स्याहार गर्नु पर्ने र अर्कोतिर खेतबारीमा काम गर्नुपर्ने भएकाले समय व्यवस्थापनलगायत काममा उनलाई गाह्रो भएको थियो ।

“एक हल गोरुले दिनभरी जोतेर खेती गर्नुपर्ने बाध्यता अब हटेको छ । पालिकाले पचास प्रतिशत अनुदानमा पावर टिलर दिएपछि खुसी लागेको छ । कृषि यान्त्रिकरणले समयको बचत हुनुका साथै काम गर्न पनि सहज भएको छ”, किसान चौधरीले भने ।

घोराही–९ कर्मटुवाका कलमती चौधरीले खेती गर्दा दुई हल गोरुको सहायता लिने गरेको बताईन् । एक बिघा पाँच कट्ठा जमिन जोतेर खेती गर्न उनलाई गाह्रो भएको थियो । उपमहानगरपालिकाले किसानलाई अनुदानमा कृषियन्त्र वितरण गर्ने सूचना थाहा पाएपछि उनले आवश्यक कागजपत्र पेस गरिन् ।

कलमतीले पावर टेलर अनुदानमा लैजान लागेको जानकारी दिईन् । गोरुले जोत्ने गरेकोमा अब मेसिनको प्रयोगले खेती गर्न सजिलो हुने उनको भनाइ थियो । “आफ्नो खेती सकियो भने अरुको खेती जोतेर पैसा कमाउने पनि सकिन्छ”, उनले भने ।

कृषि विकास शाखा प्रमुख खनालका अनुसार रू एक करोड १९ लाख ८५ हजारमा बोलपत्र भएकामा रू ९५ लाख ९५ हजार नौ सय ९० बालेपत्र स्वीकृति भएको थियो ।

नगरको तर्फबाट रू ४९ लाख ७३ हजार चार सय ६० किसानलाई अनुदान दिइएको उनले जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाले १९ वडाका ६२ किसानलाई रू ४० लाख बराबरको कृषिऔजार उपकरण वितरण गरेको हो ।

किसानलाई कृषि औजार वितरण गर्दै नगर प्रमुख नरुलाल चौधरीले कृषियन्त्रको सदुपयोग गर्दै कृषि तथा पशुपालन क्षेत्रको परिवर्तन गर्न र कृषिमा आत्मनिर्भर हुन आग्रह गरे । कृषिमा आधुनिकरणका लागि प्रविधिमा सहयोग गरिएको जनाउँदै उनले उत्पादनमा वृद्धि हुन नसके उपलब्धि नहुने बताए ।

घोराही उपमहानगरपालिकाले पछिल्लो चार वर्षमा पालिकाका एक सय ६८ किसानलाई विभिन्न कृषि उपकरण वितरण गरेको उपमहानगरपालिकाको कृषि शाखाले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?