बेइजिङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा चीनको सिधा उडानका लागि आग्रह गरेका छन् ।
बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय विदेश विभागमा शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा उनले चीनको सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र चिनियाँ निर्माण व्यवसायीहरूले बनाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिधा उडानका लागि आग्रह गरेका हुन् ।
पोखरेलले चिनियाँ नेताहरूलाई विश्व शान्ति स्थापनाको लागि दक्षिण एसियामा गरिबी निवारण कार्यक्रम र परियोजना सञ्चालन गर्न सुझाव दिए । विश्व र दक्षिण एसियामा स्थायी शान्ति स्थापनामा चीनको भूमिका नेतृत्वदायी हुने उल्लेख गर्दै त्यसका लागि चीनले गरिबी निवारणका लागि काम गर्नुपर्नेमा जोड दिए ।
उनले चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव राष्ट्रपति सी जिनपिङको नेतृत्वमा नयाँ युगका लागि चिनियाँ विशेषतासहित समाजवाद स्थापनाका लागि सफलतापूर्वक अघि बढेको देख्दा खुशी लागेको बताए । पोखरेलले चिनियाँ उद्योगीहरूलाई नेपालमा लगानीका लागि आग्रह समेत गरे ।

