बाँकेका मधेसी र मुस्लिम महिला स्वास्थ्य जाँच गराउँदै

नेपालगञ्ज । बाँकेमा रहेका मधेसी र मुस्लिम महिलाले पछिल्लो पटक खुलेर स्वास्थ्य जाँच गराउन थालेका छन् ।

नेपालगञ्ज र आसपासका गाउँपालिकामा भएका विभिन्न शिविरमा उनीहरूले स्वास्थ्य जाँच गराउन थालेको अगुवा महिलाहरू बताए ।

“पहिले मधेसी र मुस्लिम समुदायका महिला स्वास्थ्य जाँच गर्न लाजले मान्दैनथे तर अहिले विस्तारै आफ्नो समस्या भन्न थालेका छन्”, अभियन्ता तथा फातिमा फाण्डेसन, बाँकेकी अध्यक्ष मैमुना सिद्धिकीले भनिन् ।

उनले महिलामा देखिने स्वास्थ्य समस्या टालटुल गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै चरम लापरबाहीका कारण समस्या जटिल हुँदै गएको बताइन् ।

अध्यक्ष सिद्धिकीले बालविवाह र धेरै बच्चा पाउने समस्या देखिएकाले मधेसी र मुस्लिम महिला स्वास्थ्य समस्याबाट पीडित भएको जानकारी दिँदै २० देखि ४० वर्षका महिलामा पाठेघरको मुखको क्यान्सर देखिएको उल्लेख गरिन् ।

“महिला आर्थिकरूपमा सशक्त छैनन् र अस्पताल जान पनि लाज मान्छन् त्यसैले हामीले गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेका थियौँ”, उनले भनिन् ।

फातिमा फाण्डेसन नेपालको सहयोग र टेवा नेपाल काठमाडौँको आयोजनामा जिल्लाको जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगर नगरपालिकाको मधेसी तथा मुस्लिम बाहुल्य क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन भएको थियो । सो शिविरमा परीक्षण गराएकामध्ये १४ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिएको छ ।

उक्त शिविर नेपालगञ्जको १४ नं वडामा पनि सञ्चालन गर्ने तयारी भएको छ । अध्यक्ष सिद्धिकीले घरेलु महिला सबैभन्दा स्वास्थ्य समस्याबाट ग्रसित भएको भन्दै उनीहरूको उपचार प्राथमिकताको विषय हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?