बुटवल । कपिलवस्तुको बाणगंगा नगरपालिका– ७ मोतीपुर क्षेत्रमा रहेको कित्ता नं ५०२ उल्लेखित गुल्मीको एक विद्यालयको नाममा रहेको जग्गामा भू माफियाहरूले रजाइँ गरेको खुलेको छ ।
श्रीआत्मबोध मावि मानकोट गुल्मीको नाममा उल्लेखित जग्गाबाट स्थानीय जग्गा व्यापारीहरूले व्यापार गर्न मनपरी बाटो निकालेर प्लटिङ गरी घडेरी बिक्री योजनासमेत बनाएको समाचार छ । यसरी विद्यालयको जग्गामा मनपरी गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा उजुरीसमेत परेको छ ।
उक्त जग्गा डेढ बिगाह बढी छ । सो जग्गाको पछाडि विभिन्न किसानहरूसँग स्थानीय जग्गा व्यापारी सिद्ध अधिकारी लगायतका व्यक्तिले जग्गा खरिद गरी विद्यालयसँग सहकार्य नै नगरी मनपरी बाटो खोलेर प्लटिङ गरेपछि उक्त विषय अख्तियारमा पुगेको हो ।
उक्त विद्यालयको नाममा २०३६ सालदेखि ४ बिगाह जग्गा रहेको छ । सो जग्गा सुरुमा स्थानीयले जोतभोग गर्ने तथा विद्यालयलाई भाडाबापत केही रकम दिने गरेको विद्यालयको रेकर्डमा छ ।
पछिल्लो समय विद्यालयले जग्गाको प्रयोगमा ध्यान नदिँदा अहिले प्लटिङ गर्ने र किनबेचसमेत हुन स्थिति आएको हो । उक्त उजुरीमा सिद्ध अधिकारीले विद्यालयको जग्गा विष्णु गिरीको मिलेमतोमा दुरुपयोग गरेको आरोप लगाइएको छ ।
उता, आरोपित अधिकारीले आफूले दुई वर्ष अगाडि धर्मराज खनालसँग ११ कट्ठा जग्गा खरिद गरी अहिले बाटो बनाउने काम गरेको रातोपाटीलाई बताए । उनले आफूले विद्यालयको जग्गा नमिची उनीहरूले बनाएको सडकसँग जोड्ने काम मात्र गरेको बताए ।
विद्यालयको जग्गामा खानेपानी टङ्की पनि निर्माण हुँदैछ । यस्तै केही ठाउँमा सडक खोलिँदै छ । तर यसबाट विद्यालय परिवार बेखवर जस्तै रहेको छ ।
विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद ज्ञवाली भन्छन्, ‘अहिले के भइरहेको छ, हामीलाई थाहा छैन । हामीले त्यहाँबाट कुनै आयस्रोत नल्याएको पनि धेरै वर्ष भएको छ ।’ – यो समाचार रातोपाटीबाट साभार गरिएको हो ।

