बाँकेमा थारु सङ्ग्रहालय बनाउन माग

खजुरा । थारु समुदायको इतिहास, कला र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले बाँकेमा थारु सङ्ग्रहालय बनाउन माग गरिएको छ । वैजनाथ गाउँपालिकामा थारु सङ्ग्रहालय बनाउन थारु समुदायका अगुवाहरूले गाउँपालिकासँग माग गरेका हुन् ।

थारु अगुवा चन्तराम थारुले गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीलाई भेटगरी थारु सङ्ग्रहालयको महत्वबारे जानकारी गराए ।

उनले वैजनाथ ५ छमनियाँस्थित जनप्रतिभा सामुदायिक वनको जमिन सङ्ग्रहालय बनाउन माग गरे । सङ्ग्रहालयलाई पालिकास्तरीय प्राथमिकता प्राप्त योजनाका रूपमा सूचीकृत गरी निर्माणका लागि पालिकाबाटै बहुवर्षे बजेटको व्यवस्था गरिदिनुपर्ने, थारु जातिको चाड तथा नयाँ वर्षका अवसरमा थारु माघी महोत्सवका लागि उचित बजेट व्यवस्था गरिदिनुपर्ने माग गरिएको छ ।

यस्तै नयाँ पुस्तामा हस्तान्तरण गर्ने थलोका रूपमा थारु सङ्ग्रहालय बनाउने र अन्य पर्यापर्यटन गतिविधिमार्फत स्थानीयस्तरमा रोजगारका अवसर सृजना गर्नुपर्नेलगायतको माग रहेको अगुवा थारुले बताए । बैजनाथ गाउँपालिकामा कूल जनसङ्ख्याको ३८ प्रतिशत थारु समुदाय छन् ।

थारु सङ्ग्रहालय निर्माणका लागि स्थानीय जनप्रतिभा सामुदायिक वन उपभोक्ता समूहले ६ बिघा जमिन उपलब्ध गराइसकेको छ ।

गाउँपालिका अध्यक्ष शाहीले चालु आर्थिक वर्ष २०८०/८१ मै थारु सङ्ग्रहालय निर्माणका लागि प्रतिवेदन प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाए । उनले भने,“सङ्ग्रहालयको प्रतिवेदन बनेपछि बजेट पाउने सुनिश्चित हुन्छ, प्रतिवेदन तयार गर्न म प्रयास गर्ने छु ।’’

यस्तै थारु समुदायको ‘बरघर ऐन’ पनि आफ्नो कार्यकालमा बनाउने अध्यक्ष शाहीले बताए । उनले ‘शहीद’ वैजनाथ थारुको सम्मानस्वरूप गाउँपालिकाको नामकरण गरिएको स्पष्ट पार्दै स्थानीय सरकारले थारु समुदायलाई हरेक कार्यक्रममा समेटेको बताए । थारु समुदायको खानपान, कला, संस्कृति, भेषभूषा र इतिहास बचाउन सङ्ग्रहालय बनाउन आवश्यक रहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?