बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । बिहान ११ बजे बसेको प्रदेशसभा बैठकबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो ।
प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ मत मात्रै खस्यो । उनले एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मतमात्र पाए । प्रस्तावको विपक्षमा कांग्रेस, माओवादी, एकजना स्वतन्त्र सांसदसमेत गरी ५३ जनाले मत दिए ।
यससँगै मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसद आवश्यक हुन्छ । आजको मतदानमा एक सांसद भने उपस्थित भएनन् ।
माओवादी लगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था अनुसार विश्वासको मत लिन लिएका हन् ।
सत्तारुढ दलहरुले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ५३ जना सांसदले लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए । ठूलो दलको हैसियतले संविधानको धारा १६८ (३) अनुसार सरकारको नेतृत्वमा दाबी गर्ने एमालेको तयारी छ ।

