नेपालगन्ज–जनकपुर जोड्न ‘चार्टड उडान’

नेपालगन्ज । नेपालगन्ज–जनकपुरलाई सिधा जोड्न शनिबार निजी स्तरबाट ‘चार्टड उडान’ गरिएको छ ।

धार्मिक पर्यटन प्रवर्द्धनका लागि भन्दै नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टरको अगुवाइमा यति एयरलाइन्सले सिधा उडान गरेको हो ।

नेपालगन्जबाट शनिबार दिउँसो उडेको यति एयरलाइन्सको जहाज अपराह्न जनकपुर विमानस्थलमा अवतरण गरेको थियो ।

उक्त टोलीमा लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री कृष्णा केसी नमुना, प्रदेश सांसद अम्बिका काफ्ले, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र उपमेयर कमरुद्धिन राई, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीसहित पदाधिकारी, नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलसहित पदाधिकारी, अन्य उद्योगी, व्यवसायी, पर्यटनकर्मी, धार्मिक व्यक्ति लगायत रहेका थिए।

नाट्टा बाँके च्याप्टर अध्यक्ष सिग्देलले शनिबार ७२ जनालाई लिएर नेपालगन्जदेखि जनकपुर सिधा चार्टड उडान गरिएको बताए ।

चार्टड उडानमा नाट्टा बाँकेले प्रतिव्यक्ति एकतर्फी भाडा ८ हजार ५ सय निर्धारण गरेको थियो। नेपालगन्जबाट पुगेको उक्त टोली जानकी मन्दिर दर्शन पश्चात् शनिबार बेलुका सोही जहाजमार्फत फर्केको अध्यक्ष सिग्देलले जानकारी दिए ।

नाट्टा बाँकेका अनुसार यसअघिको तालिकामा नेपालगन्जबाट गएको टोलीलाई जनकपुर पुर्‍याएर सोही जहाजले जनकपुरबाट पनि त्यहाँको टोलीलाई बागेश्वरी मन्दिर दर्शन गराउन नेपालगन्ज ल्याउने तय गरिएको थियो ।

नेपालगन्जमा शनिबार र आइतबार बास बसेको जनकपुरको टोलीलाई सोमबार पुनः सोही जहाजले लिएर जाने र त्यहाँबाट नेपालगन्जको टोलीलाई ल्याएर नेपालगन्जसम्म पुर्‍याउने तीन दिने कार्यक्रम तालिका निर्धारण गरिएको थियो। तर, योजना अनुसार कार्यक्रम हुन सकेन ।

‘जनकपुरवासीहरूले नेपालगन्जलाई त्यति महत्त्व दिएको पाइएन, हामी यहाँबाट ७२ वटै सिट प्याक गरेर जनकपुर पुग्यौँ, तर जनकपुरबाट जम्मा १३ जनाले मात्रै नेपालगन्ज आउने इच्छा देखाउनु भयो,’ नाट्टा बाँके च्याप्टरका महासचिव झबिलाल शर्माले भने ‘त्यत्रो ठुलो जहाजमा १३ जनालाई मात्रै बोकेर ल्याउने कुरा पनि भएन, त्यसकारण निर्धारित सबै कार्यक्रम रद्द भयो र नेपालगन्जको टोलीलाई एकै दिनमा फर्काउनु पर्‍यो।’

यद्यपि, नेपालगन्ज–जनकपुर सिधा हवाई उडानले धार्मिक पर्यटन प्रवर्द्धन हुने यहाँका पर्यटन व्यवसायीको विश्वास छ। सिधा हवाई उडान भएपछि नेपालगन्जमा आउने धार्मिक पर्यटकले जानकी मन्दिर, कैलाश मानसरोवर, पशुपतिनाथ मन्दिर सहज रुपमा पुगेर दर्शन गर्न पाउने जिल्ला पर्यटन प्रवर्द्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ बताउँछन्। ‘धार्मिक पर्यटन प्रवर्द्धनका हिसाबले यो अत्यन्तै महत्त्वपूर्ण छ,’ उनले भने ।

यति एयरलाइन्सका नेपालगन्ज प्रमुख दिलीप कार्कीले नेपालगन्जदेखी जनकपुरका लागि चार्टर उडान गरिएको र उडानमा सहुलियत प्रदान गरिएको बताए । ‘हामीले यसमा प्रमोसन कष्ट मात्रै लिएका छौंं,’ उनले भने ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट सिधा हवाई उडानले प्रसिद्ध बागेश्वरी मन्दिर, जनकपुरको जानकी मन्दिर र छिमेकी देश भारतको अयोध्यामा रहेको राम मन्दिर बीचको अन्तर सम्बन्ध कायम गर्नेमा विश्वस्त रहेको बताउँछन् ।

‘नेपालगन्ज–जनकपुर सिधा हवाई उडान निकै महत्त्वपूर्ण छ, अहिले तत्कालका लागि चाटर्ड उडान भएपनि हामी सबैको सहयोग र पहलले यसपछि नियमित उडान गर्न हवाई सेवा प्रदायक कम्पनीलाई पनि सहज हुनेछ,’ उनी भन्छन् ।

लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री केसी हवाई उडानले मधेश प्रदेशका पारम्परिक दुई सहर नेपालगन्ज र जनकपुरबीच प्रत्यक्ष सम्बन्ध गाँसिने बताउँछिन्। उनी भन्छिन्, ‘सिधा उडानले नेपालगन्ज एउटा धार्मिक पर्यटकीय गन्तव्य बन्नेछ र धार्मिक पर्यटनलाई टेवा पुग्नेछ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?