गुल्मी । स्थानीयवासीको आफ्नै सक्रियताले गुल्मीमा पक्की पुलको निर्माण गरी आज उद्घाटन गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका–५ आँपचौरका स्थानीयवासीको पहलमा धार्मिक क्षेत्र कोटेश्वर मन्दिर र कोटेश्वर गुफामा पुग्नका लागि घैँटेआँप कोटेश्वर पुलको निर्माण भएको थियो ।
हाल रोजगारीको सिलसिलामा जापानमा रहेका आँपचौरका स्थानीयवासी किरण खरेलले पुल निर्माणको अगुवाइ गरेका थिए । सोअन्तर्गत १३ मिटर लम्बाइ र दुई मिटर चौडाइको पक्की पुल रु सात लाख ६० हजारमा निर्माण सम्पन्न भएको छ ।
खरेलसहित हाल रोजगारी र व्यवसायको सिलसिलामा युरोप रहेका फणिन्द्र भण्डारी र देशविदेशमा रहेका आँपचौरवासीले पक्की पुलको निर्माण गरेको स्थानीयवासी डिल्लीराज अर्यालले जानकारी दिए ।
निर्माण सम्पन्न पुलको आज आँपचौरका सबैभन्दा ज्येष्ठ नागरिक ९६ वर्षीय दुर्गादत्त अर्यालले उद्घाटन गरे । उनले विदेशमा रहेर पनि जन्मभूमिको माया लागेर गरेका कामले आफू प्रसन्न भएको बताए ।
मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेलले धार्मिक क्षेत्रमा जान वर्षायाममा भएको असहजता मेटाउने सबैलाई धन्यवाद व्यक्त गरे । “विदेशमा रहनुभएका आँपचौरवासीको सहयोग प्रशंसायोग्य छ”, उनले भने, “स्थानीयवासीको सक्रियता भएमा असम्भव भन्ने केही हुँदैन ।”
पुल निर्माणका लागि जय जय कोटेश्वर समूहले अभियान नै चलाएको थियो । अभियानअन्तर्गत देश तथा विदेशमा रहेका आँपचौरवासीले आर्थिक सहयोग गरेका छन् ।
पक्की पुलले मुसिकोट नगरपालिका–५ र चन्द्रकोट गाउँपालिका–८ लाई जोडेको छ । दुई पाङ्ग्रे सवारी साधन र पैदल यात्रुलाई पक्की पुलले राहात प्रदान गर्नेछ । पुलका कारण कोटेश्वर क्षेत्रमा थप पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ ।

