back to top

खाजा खर्चमा विभेद

परासी । नवलपरासीको सुनवल नगरपालिकाले उपलब्ध गराउँदै आएको खाजाबापतको रकममा विभेद गरेको कर्मचारीले गुनासो गरेका छन् ।

नगरपालिकाले ‘आन्तरिक कार्यसञ्चालन मापदण्ड–२०८०’ लागू गरेर नगरको आन्तरिक स्रोतबाट तलब पाउँदै आएका कर्मचारीहरूलाई दैनिक ३ सय रुपैयाँ खाजाबापतको रकम उपलब्ध गराउँदै आएको छ ।

हाजिरी भएको दिनका आधारमा खाजाबापतको रकम उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ । संघ र प्रदेशको सशर्त रकमबाट तलब पाउँदै आएकाबाहेक आन्तरिक कोषबाट तलब पाउँदै आएका कर्मचारीलाई मात्र खाजाबापतको रकम उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ ।

तर, आन्तरिक स्रोतबाटै तलब पाउँदै आएका स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरूले समेत उक्त रकम नपाएको गुनासो गरेका छन्। स्वास्थ्य शाखामा ५५ जना कार्यरत छन् । जसमा ३२ जना आन्तरिक स्रोतबाट तलब पाउने छन्।

नगरपालिकाको स्रोतबाट तलब पाउँदै आएकी अनमी मनिषा ढकालले आफूहरूले उक्त रकम नपाएको बताइन् । ‘आन्तरिक स्रोतबाट तलब पाउनेलाई खाजाबापतको रकम दिइएको भनिएको छ। तर, स्वास्थ्यकर्मीसहितका हामी ३२ जना कर्मचारीले पाएका छैनौं’, उनले भनिन् ।

खाजामा विभेद गरेको भन्दै स्वास्थ्य शाखाका कर्मचारीहरूले नगरपालिका हुने कार्यक्रममा सहभागी हुन छाडेका छन् । नगरपालिकामा काम गर्ने सबै कर्मचारी एउटै भएकाले संघ र प्रदेशको नाममा भेदभाव गरिनु गलत भएकाले समान व्यवहार गर्न कर्मचारीहरूले माग गरेका छन् ।

स्वास्थ्य शाखाका कर्मचारीबाहेक ९३ जनाले खाजाबापतको रकम पाउँदै आएको नगरपालिकाले जनाएको छ । उनीहरूका लागि मासिक ६ लाखको हाराहारीमा खाजाबापतको रकम खर्च गरिँदै आइएको छ ।

अहिलेसम्म ५ महिनाको खाजाबापतको रकम वितरण गरिएको छ । जसमा २७ लाख ८९ हजार रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख विमला अर्यालले सबै कर्मचारीलाई खाजाबापतको रकम उपलब्ध गराउन नसकिएको बताइन्। संघ र प्रदेश सशर्त रकमबाट तलब पाउँदै आएका कर्मचारीबाहेक नगरको कोषबाट तलब पाउँदै आएका कर्मचारीलाई मात्र खाजाबापतको रकम उपलब्ध गराउने निर्णय भएकाले सोहीअनुसार उपलब्ध गराइएको उनले बताइन् ।

‘खाजा रकमले नगरपालिकाको दायित्व बढाएको छ। उक्त रकम कटौती नै गर्ने की नपाएका कर्मचारीलाई पनि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गर्छौँ ।’ नगर प्रमुख अर्यालले भनिन् ।

खाजा रकमबारे कर्मचारीमा असन्तुष्टी देखिएकाले त्यसलाई छलफलबाट टुंगाउने प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए । ‘विभेद नै त नभनौ, केही सुधार गर्नुपर्ने देखिएको छ। त्यसलाई कार्यपालिकामा एजेण्डा लगेर छलफलबाट समाधानको प्रयास गर्छौं’, गिरीले भने।

नगरपालिकाले यसवर्ष साढे १६ करोड आन्तरिक स्रोतबाट रकम संकलन गर्ने लक्ष्य लिएको छ । गतवर्ष १४ करोड संकलन गर्ने लक्ष्य लिएकोमा १२ करोडको हाराहारीमा आन्तरिक स्रोतबाट रकम संकलन भएको नगरपालिकाले जनाएको छ ।– अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?