मालपोत कार्यालय गुलरिया एक महिनादेखि प्रमुखविहीन

बर्दिया । बर्दियाको गुलरियास्थित​ भूमिसुधार तथा मालपोत कार्यालयमा प्रमुख नहुँदा सेवा प्रभावित भएको छ । करिब १ महिनादेखि प्रमुख नहुँदा कार्यालयका भूमिसुधार, मुद्दा र आर्थिकसँग सम्बन्धित कामकाज ठप्प भएको निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी नरेश कुमार तिवारीले जानकारी दिए ।

उनका अनुसार कार्यालय प्रमुख सरुवा भएको २८ दिन बितिसक्दासमेत अर्का कार्यालय प्रमुख आएका छैनन् । उनले भने, ‘‘भूमि व्यवस्थापन तथा अभिलेख विभागले अहिलेसम्म कार्यालय प्रमुख टुंगो लगाएको छैन ।’’

निमित्त कार्यालय प्रमुख तिवारीले कार्यालय प्रमुख नहुँदा भूमिसुधार, मुद्दा र आर्थिकसँग सम्बन्धित कामकाज ठप्प रहेको जानकारी विभागलाई गराएको जानकारी दिए । उनले भने, ‘‘यस विषयमा सीडीओ साुबलाई समेत भेटेर जानकारी गराएको छु ।’’

यस विषयमा विभागका उपनिर्देशकसँग पनि कुरा राखेको उनले बताए । निमित्त कार्यालय प्रमुख तिवारीले प्रमुख तोक्न फाइल भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा समेत पठाएको बताए ।

कार्यालय प्रमुख नहुँदा जिल्लाको टाढा टाढाबाट आउने सेवाग्राही दुःख पाएर फर्किन बाध्य भएका छन् । सम्बन्धित निकायको लापरवाहीले सेवाग्राही दुःख पाइरहेको सेवा लिन मालपोतमा आएका मधुवन नगरपालिका७ का सेवाग्राही रमेश थारूले बताए ।

गत फागुन १६ गते मालपोत कार्यालयका कार्यालय प्रमुख मदन घिमिरे सरुवा भएर अन्यत्र गएपछि विभागले अर्को कार्यालय प्रमुख अहिलेसम्म पठाएको छैन ।

जिल्लाकै बढी भिडभाड हुने मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको अर्का एक कर्मचारीले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ