बुटवल । नेकपा (एमाले)को लुम्बिनी प्रदेशको पहिलो अधिवेशन आजदेखि बुटवलमा सुरु हँदैछ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
उद्घाटनमा पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेशका इन्चार्ज पद्मा अर्यालका साथै पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।
सम्मेलन पूर्व शनिबार बिहान १० बजेदेखि बुटवलका १९ वटै वडाहरू, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराबाट जुलुस तथा झाँकीसहित सम्मेलनस्थलमा प्रवेश गर्नेछन् ।
अधिवेशनले पार्टीको राजनीतिक जीवन प्रभावकारी तुल्याउने विश्वास व्यक्त गरिएको छ । सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेशले पहिलो पटक यो अधिवेशन गर्न लागेकाले पार्टी जीवनलाई सङ्घीय ढाँचा अनुरुपमा नयाँ नेतृत्व चयन गर्नेछ । प्रदेश अधिवेशन ऐतिहासिक महत्त्वको रहेको प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले दाबी गरे ।
सम्मेलनका लागि १२ वटै जिल्लाका ८२ हजार आठ सय ९५ पार्टी सदस्य र अन्य २३ वटा जनसङ्गठनबाट छानिएका एक हजार चार प्रतिनिधि रहनेछन् । अधिवेशनले यसअघि पाँच सय ७६ सदस्यीय रहेको प्रदेश सङ्गठन कमिटीलाई दुई सय पाँच सदस्यीय बनाउनेछ ।
सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै एक सय ६४, कपिलवस्तुबाट ७२, दाङबाट एक सय ३१, बांकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट एक सय ११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् ।
त्यस्तै जनसङ्गठनबाट ८३ गरी जम्मा एक हजार चार प्रतिनिधि छनोट भएका एमाले प्रचारप्रसार विभाग प्रमुख डिआर घिमिरेले बताए ।
प्रदेश अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कंडेल, प्यूठानका हरि रिजाल र दाङका लक्ष्मण आचार्य प्रतिस्पर्धामा छन् तर कंडेल र रिजालबीच नै प्रतिस्पर्धा हुने सम्भावना बलियो छ ।

