अझै भेटिएनन् सुदीप

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका सुदीप ज्ञवाली १६ दिनदेखि बेपत्ता छन् । ३५ वर्षीय उनी काठमाडौंमा बसेर एमआरको काम गर्थे । उनका आमाबुबा, श्रीमती झरना र १४ महिनाका छोरा बुटवलमै बस्छन् ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर घर आउन भनेर कामबाट २ दिनको बिदा लिएका सुदीप पुस १२ गते काठमाडौंबाट आउँदै गर्दा गैंडाकोटबाटै बेपत्ता भएको श्रीमती झरनाले बताइन् ।

उनका अनुसार सुदीपले ७ बजेर १२ मिनेटमा उनलाई फोन गर्दा गैंडाकोट आइपुगेको बताएका थिए । फोन राखेको केहीबेरबाटै उनको फोन सम्पर्क हुन सकेन । झरना र परिवारले घर आइपुग्लान् भन्ने सोंचले प्रहरीमा खबर नगरेको झरनाले बताइन् ।

हामीले शुक्रबार साँझसम्म पर्खियौं, फोन अफ थियो, उनले भनिन्, फोन नै नलागेपछि शुक्रबार साँझ इलाका प्रहरी कार्यालय बुटवलमा खबर गरियो । शनिबार बिहान निवेदन दर्ता गर्‍यौं ।

सुदीपको अन्तिम फोन सम्पर्क गैंडाकोटसम्म भएको र त्यसपछि फोन अफ रहेको र उनी घर नआइपुगेको भनी प्रहरीमा निवेदन दर्ता गराएको उनले बताइन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले सुदीप हराएको भन्ने निवेदन काठमाडौंमा समेत दर्ता भएको र दुवैतिरबाट समन्वय गरी खोजतलासको प्रक्रियामा रहेको बताए ।

उनले परिवारका सदस्यले जानकारी दिएअनुसार फोन सम्पर्क हराएके स्थानमा बुझ्दा उनको बारेमा जानकारी पाउन नसकेकाले अन्यत्र बुझ्ने र खोज्ने काम भइरहेको जनाए ।

घर आउँदा बसपार्कबाटै टिकट काटेर बसमा आउने गरेका सुदीपको काठमाडौंको बसपार्कमा समेत उक्त दन टिकट काट्ने सवारीमा नाम उल्लेख नभएको उनले बताइन् ।

३ वर्षअघि बुटवल १३ झोलुंगेपुलकी झरनासँग मागी विवाह गरेका सुदीप दसैं यता काठमाडौंमा एक्लै बस्दै आएका थिए । त्यसअघि झरना र उनी सँगै थिए ।

झरना दसैंमा घर आएपछि यतै बसेकी थिइन् । सुदीप फर्किएका थिए । सुदीप हरेक अवसरमा पाएसम्म बिदा मिलाएर घर आउने गरिरहने श्रीमतीले सुनाइन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ