भैरहवामा चौपाया छाडा छोड्नेलाई ७ हजार जरिवाना

भैरहवा । छाडा चौपायाले दुख दिन थालेपछि भैरहवामा छाडा गाइगोरु नियन्त्रण अभियान थालिएको छ ।

नगरपालिकाले त्यसरी चौपायालाई छाडा छोड्ने धनीहरुलाई जरिवाना समेत गरिरहेको छ । सिद्धार्थनगर नगरपालिकाले सहरमा छाडा गाइगोरुले आतंकित बनाउन थालेपछि नियन्त्रणका लागि अभियानै चलाएको हो ।

छाडा गाइगोरुको कारण नगरमा जताततै फोहर, सडक दुर्घटना, किसानको खेतीबाली खाइदिने लगायतका समस्या समस्या देखिएका छन् ।

नगरपालिकाको छाडा चौपाया व्यवस्थापन समितिका संयोजक एवम् वडा नम्बर ७ का अध्यक्ष दामोदर शर्मा घिमिरेले छाडा गाइगोरुले नगरमा पुनः समस्या ल्याउन थालेपछि नियन्त्रण तथा व्यवस्थापनकालागि नगरपालिकाले अभियान सञ्चालन गरिरहेको बताए ।

‘नगरमा जथाभावी छाडा छाडिएका गाइगोरुलाई नगरपालिकाका कर्मचारी र अन्य जनशक्ति जुटाएर नियन्त्रणमा लिएर तत्कालका लागि होल्डिङ सेन्टरमा राखिएको छ,’ घिमिरेले भने, ‘दुई दिन भित्रमा सम्बन्धित चौपायाका धनी आएर नलगे ट्रकमा लोड गरी विभिन्न गौसंरक्षण तथा अनुशन्धान केन्द्रमा लगेर व्यवस्थापन गरिनेछ ।’

घिमिरेका अनुसार, होल्डिङ सेन्टरमा राखिएका गाइगोरुलाई पशुचिकित्सकद्वारा स्वास्थ्य जाँच र उपचार गरी घाँस पराल खुवाएर राखिएको छ । नगरपालिकाले गाइगोरु लिन आउने सम्बन्धित धनीलाई ५ देखि ७ हजार जरिवाना तिराउने गरेको छ ।

होल्डिङ सेन्टरमा दुई दिनमै करिब चार दर्जन गाइगोरु जम्मा भइसकेका छन् । छाडा छाडिनेमा दुध दिने गाइसमेत छन् । नगरपालिकाले गतवर्ष पनि अभियानै चलाएर छाडा गाइगोरुको व्यवस्थापन गरेको थियो । गत बर्ष यसरी नै १ सय ७० वटा छाडा गाइगोरुको व्यवस्थापन गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ