कृष्णी थारु: कमलरीदेखि माननीय उपसभामुखसम्म

कुनै बेला घरेलु कामदार भएर कठोर श्रम गरेकी श्रमिक महिला मुलुकको नीति–निर्माण तहमा पुगेको एउटा दृष्टान्त हुन्, कृष्णी थारू । जीवन संघर्ष र श्रमले उनलाई यो उचाइ दिलाएको हो ।

७ वर्षकै उमेरदेखि कमलरी जीवन बिताएकी बर्दिया राजापुरकी कृष्णी थारू लुम्बिनी प्रदेश सभाकी माननीय उपसभामुखसम्म पुगिन् ।

२०६४ सालमा अखिल नेपाल महिला संघको बर्दिया जिल्ला सदस्यबाट नेकपा एमालेको राजनीतिमा जोडिएकी कृष्णी २०७४ को स्थानीय चुनावमा राजापुर नगरपालिकामा उपप्रमुख पदको उम्मेदवार थिइन् । तर पराजित भइन् ।

स्थानीय तहमा पराजित भएकी कृष्णीलाई लगत्तै भएको प्रदेश सभा निर्वाचनमा उनको पार्टीले समानुपातिक सूचीमा राख्यो, उनी सभासद् भइन् । त्यसपछि प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेद्वारलाई पराजित गर्दै उनी उपसभामुख बन्न सफल भइन् ।

दुई दशक अघिसम्म घरेलु कामदार बसेर कठोर श्रम गरेकी श्रमिक महिला कसरी मुलुकको नीति–निर्माण तहमा पुगिन् भन्ने एउटा दृष्टान्त हुन्, कृष्णी थारू । जीवन संघर्ष, समानताको आन्दोलन र श्रम अधिकारको पैरवीले उनलाई यो उचाइ दिएको हो ।

हिजोकी कमलरी

१ साउन २०३२ मा जन्मिएकी कृष्णी विवाह अघि ७ र पछि ११ वर्ष कमलरी बसिन् । घरको आर्थिक अवस्था कमजोर भएकी कृष्णी थारूका बुबा र आमा कमैया थिए । यसको अर्थ बुबा–आमा पनि अरूकै घरमा काम गर्थे ।

उनको कमलरी बसाइको सुरुआत तत्कालीन कृषि विकास बैंकका प्रमुखको राजापुर बजारस्थित आवासबाट सुरु भयो, जतिबेला उनको उमेर ७ वर्षको थियो ।

कमलरी जीवन कतिसम्म पीडादायी थियो भनेर उनलाई अहिले सम्झन पनि मन लाग्दैन । माझेको भाँडा नटल्किंदा हाकिमकी श्रीमतीले भाडा फ्याँकिदिएको र पिटेको अहिले जस्तो लाग्छ । उनी भन्छिन्, ‘भो ज्यादतीको कुरै नगरौं !’

यति भन्दै गर्दा पनि कृष्णीले विगत सम्झँदै भनिन्, ‘त्यहाँ तीन वर्ष काम गर्दाका धेरै कुरा मलाई सम्झना छ । उनीहरूका छोराछोरीले खाएर छाडेको जुठो खाना दिन्थे, चिसो भुईंमा सुताउँथे । कतिसम्म भने चिया खान मनलाग्दा किट्ली माझ्दा भेटेको चियापत्तीका छोक्रा खानुपर्थ्यो ।’

उनको बाल्यकालमा भएको एउटा घटना आज पनि उनी बिर्सन सक्दिनन् । उनले भनिन्, ‘एकदिन मालिकको घरमा भोज थियो र पाहुना धेरै थिए ।

अबेरसम्म भाँडा माझेर तल्लो तलामा ओर्लंदा भर्‍याङबाट लडें, भाडा पनि खसे, खुट्टामा चोट लाग्यो । तर ती हाकिमकी श्रीमतीले मेरो रगताम्य खुट्टालाई वास्ता गरिनन्, उल्टै भाडा खसालेकोमा मलाई पिटिन् ।’

कृष्णीका भनाइमा, उनी त्यस दिन धेरै रोइन् । घाउ झन्–झन् दुख्न थाल्यो । अनि घरबाट भागेर बुबा बसेको घरमा गइन् । बुबा पनि अर्काको घरमा बसेको, उहाँसँग पनि केही थिएन ।तर बुबाले पुरानो कपडा जलाएर खरानी बनाई काटेको घाउमा खरानी र मट्टीतेल हालेर बाँधिदिनुभयो । अहिलेजस्तो न मेडिकल थियो, न अस्पताल ।

केही दिनपछि कृष्णी बुबाको घरबाट त्यही घरमा काम गर्न आउनु पर्‍यो । हाकिम काठमाडौं सरुवा भएपछि उनलाई पनि सँगै लैजान जोडबल गरे तर उनी अघिल्लै दिन घरबाट भागिन् । त्यसपछि कृष्णी दुई वर्ष बर्दियाकै खैरीमा थारू जमिनदारको र अर्को दुई वर्ष राजापुरकै थारू जमिनदारको घरमा कमलरी बसिन् ।

१५ वर्ष पुगेपछि अरूको घरमा भैंसी चराउने कृष्ण थारूसँग उनको विवाह भयो । उनी पनि पतिले काम गर्ने घरमै बसेर काम गर्न थालिन् । पतिले वार्षिक रूपमा केही पारिश्रमिक पाउँथे तर उनले विना तलब काम गर्नुपर्थ्यो ।

कृष्णीले २०५० सालमा गाउँमै प्रौढ शिक्षा पढ्न खोजिन् तर पाइनन् । छोरालाई के रोग लाग्यो कुन्नि तीन महिनासम्म दूध खाएन । छोरो बचाउन उनले पढाइ छाड्नुपर्‍यो ।

छोरी जन्मेपछि निमोनिया भयो पढ्न जान पाइनन् । उनी भन्छिन्, ‘जहाँ अभाव छ त्यहीं रोग र भोकले सताउँदो रहेछ । खान–लाउन नपुग्ने मान्छेका छोराछोरी बारम्बार बिरामी हुँदाको पीडा भोग्नेलाई मात्रै थाहा हुन्छ ।’

बहुदलीय व्यवस्थाको स्थापना पछि कमैया, कमलरी समुदायभित्र पनि एउटा तरङ्ग आउन थाल्यो । कृष्णीको मनमा विद्रोहको भावना फक्रिन थाल्दै गर्दा ८ घण्टा काम, ८ घण्टा आराम, ८ घण्टा मनोरञ्जन अनि समान कामको समान ज्याला जस्ता कुरा उठ्न थाले ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा यस्ता कुरा झन् चर्को गरी उठ्न थाले । काम गर्न बसेको घरको मालिकसँग सोझै कुरा गर्न नसके पनि उनले विस्तारै अरू कमैया, कमलरीलाई यो सन्देश फैलाउँदै लगिन् । कमलरी नै बसेको अवस्थामा पनि उनीहरू संगठित हुन थाले । यसैबेला सरकारले २०५७ सालमा कमलरी/कमैया मुक्त गर्ने घोषणा गर्‍यो ।

‘त्यो दिन हामी कमलरीहरूले एकअर्कालाई अबिर दलेर खुशियाली मनायौं, हाम्रो खुट्टामा बाँधिएको जञ्जिर टुट्यो, स्वतन्त्र भइयो अब अरूको घरमा बसेर काम गर्न पर्दैन, कसैको अत्याचार सहनुपर्दैन भन्ठान्यौं’– त्यो दिन सम्झँदै कृष्णी भन्छिन् ।

तर उनीहरूले सोचे जस्तो भएन । सरकारी घोषणा कार्यान्वयनमा आउन समय लाग्यो । मालिक र जमीनदारको घर छाडेकाहरू कैयौं दिन सडक किनारमा त्रिपाल टाँगेर भोकभोकै बस्नुपर्‍यो । पुनःस्थापना सहज हुन सकेन । न सरकारले सबैलाई जग्गा दिनसक्यो, न शिक्षा र स्वास्थ्यको व्यवस्था नै गर्न सक्यो ।

यिनै विषय उठाएर कृष्णीले बर्दिया, बाँके, दाङ, कैलाली र कञ्चनपुरका कमलरी र कमैयाहरूलाई संगठित गर्न थालिन् । २०५८ सालमा मुक्त कमैया समाजको केन्द्रीय सदस्य बनेकी उनी २०५९ मा गाविसस्तरको संगठनको अध्यक्ष भइन् ।

त्यतिबेला सञ्चालित मुक्त कमैया खाद्य सुरक्षा कार्यक्रममा उनीहरूलाई बाटो खन्ने कामका लागि ज्याला चामल दिइन्थ्यो । स्थानीय सरस्वती चौधरीका भनाइमा, ‘राजापुरबाट गुलरियासम्म करिब ३६ किलोमिटर साइकल चलाएर जाने र मुक्त कमैयाले पाउने चामलको हिस्सा ट्रकमा ल्याएर बाँड्ने कामको नेतृत्व कृष्णीले गरेकी थिइन् ।’

कृष्णीले आफू जस्तै पीडादायी कमलरी जीवन बाँचेका थुप्रै महिलालाई कमैया मुक्ति आन्दोलनमा जोडिन् र उनीहरूको नेतृत्व क्षमता विकास गराइन् । तीमध्ये केही संविधानसभा सदस्य भए भने केही स्थानीय सरकारका विभिन्न तहमा जनप्रतिनिधि बनेका छन् ।

उनले २०६४ सालमा आफ्नै नेतृत्वमा कमैया महिला जागरण समाज गठन गरिन् । ‘जसको सवाल उसको नेतृत्व’ भन्ने नारा अघि सारेर कमलरी पुनःस्थापना, रोजगारी, शिक्षा, स्वास्थ्यको व्यवस्था अनि बालविवाह, बहुविवाह विरुद्ध अभियान चलाइन् । कमलरी महिलाको प्रतिनिधित्व टोल र वडादेखि सामुदायिक संघ–संस्थामा पनि हुनुपर्छ भनेर वकालत गरिन् ।

२०६७ सालमा यो संस्थालाई विधिवत् दर्ता गरियो । उनी भन्छिन्, ‘अनि बर्दिया सहित ५ जिल्लामा मुक्त कमलरी जागरण अभियान चलाएँ, सापट र चन्दा मागेर चिया–बिस्कुट र ब्यानरको जोहो गरिन्थ्यो ।’ संस्थाले पहिलो पटक जिल्ला विकास समिति बर्दियाबाट पाएको ५० हजार अनुदान २५ हजारका दरले २ वटा समूहलाई बंगुर र बाख्रापालनका लागि दिइयो ।

दुईवटै समूहले राम्रो गरेपछि त्यो कामले जिल्लाभरि प्रशंसा पायो । कृष्णीको अगुवाइमा मुक्त कमैया समूहले राम्रो प्रगति गरेको थाहा पाएपछि अन्तर्राष्ट्रिय दातृ निकाय एक्सन एड नेपालले उनको संस्थालाई सुरुमा एक वर्ष काम गर्न ३० लाख रुपैयाँ बजेट दियो ।

त्यो बजेट संस्थाले मुक्त कमलरीको २३ वटा कृषि समूह बनाई तरकारी खेती, बाख्रा र बंगुरपालन लगायत उद्यम गर्न लगानी गर्‍यो । त्यो कामबाट प्रभावित भएर एक्सन एडले संस्थालाई १० वर्षसम्म कार्यक्रम थप गरिदियो ।

यसरी कृष्णीले आफू जस्तै पीडादायी कमलरी जीवन बाँचेका थुप्रै महिलालाई कमैया मुक्ति आन्दोलनमा जोडिन् र उनीहरूको नेतृत्व क्षमता विकास गराइन् । तीमध्ये केही संविधानसभा सदस्य भए भने केही स्थानीय सरकारका विभिन्न तहमा जनप्रतिनिधि बनेका छन् ।

कृष्णीले मुक्त कमलरी र कमैयाको पुनःस्थापनाका लागि मात्र नभई समाजमा पछाडि परेका समुदायको उत्थान, हकअधिकारको लागि गरेको योगदान साँच्चिकै अनुकरणीय रहेको राजापुरका अगुवा पहारी चौधरीको प्रतिक्रिया छ ।

कार्यक्रमबाट बर्दियामा मात्रै ६०० जना महिला साना उद्यमी बनेको र ५ वटा जिल्लामा कम्तीमा एक हजार उद्यमी र स्वरोजगार बनेको कृष्णीको दाबी छ ।

५ जना कर्मचारीबाट सुरु भएको संस्थामा अहिले २३ जनाले रोजगारी पाएका छन् । राजापुरकी सरस्वती चौधरीले भनिन्, ‘धेरै दुःख पाएर पनि कमलरीका लागि लडिन् । उपमेयर हारे पनि उपसभामुख भइन् । ठूलो पदमा पुगे पनि उनमा घमण्ड छैन, पहिला जस्तै छिन् ।’–अनलाइन खबरबाट

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ