पुष्पा चौधरी: थारु समुदायकी उद्घोषक

गुरुबाबा एफएमकी स्टेशन म्यानेजर पुष्पा चौधरीका लागि रेडियो भन्नु नै सबथोक हो । उनका थप दुई काम पनि छन् । थारू संस्कृतिको अंग ‘बडघर’ मा महिला नेतृत्व स्थापित गर्ने र देवानी संहितालाई थारू भाषामा अनुवाद गरेर निःशुल्क वितरण गर्ने ।

५३ वर्षीया पुष्पा चौधरी १६ वर्षदेखि बर्दियाको बाँसगढीस्थित सामुदायिक रेडियो गुरुबाबा एफएमको व्यवस्थापकीय नेतृत्वमा छन् ।

थारू भाषामा सञ्चालन हुने नेपालकै पहिलो सामुदायिक रेडियोको नेतृत्व गर्ने क्रममा उनले समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र भाषा संस्कृतिको संरक्षणमा निर्वाह गरेको भूमिका अद्वितीय छ ।

२२ वर्षदेखि निरन्तर पत्रकारितामा रहेकी उनी अहिले त २४सै घण्टा अफिसमा बस्छिन् । झिसमिसे बिहानदेखि राति अबेरसम्म रेडियोकै काममा व्यस्त हुन्छिन् । उनका लागि रेडियो भन्नु नै सबैथोक हो ।

थारू समुदायमा पुगेर उनीहरूकै भाषा र शैलीमा उनीहरूकै आवाज रेडियोका माध्यमबाट समुदायमा पुर्‍याउन सक्रिय हुन्छिन् । ‘थारू भाषा, संस्कृति र समुदायका आवाज उठाउँदा उठाउँदै रेडियो नै मेरो घर–परिवार बन्यो’ उनी भन्छिन्, ‘विवाहबारे त सोच्नै भ्याइएन ।’

दाङको घोराहीबाट निस्कने थारू भाषी भित्ते पत्रिकाबाट पत्रकारिताको सुरुवात गरेकी पुष्पाले २०५५/५६ सालतिर झण्डै एक वर्ष त्यसको सहायक सम्पादक भएर काम गरिन् । विस्तारै उनलाई पत्रकारिता रमाइलो लाग्न थाल्यो । त्यही क्रममा २०५७ सालतिर थारू भाषाको रेडियो कार्यक्रम उत्पादन गर्ने अवसर पाइन् ।

गाउँबस्तीमा पुगेर थारू समुदायका शिक्षा, कृषि, स्वास्थ्य, मानवअधिकार जस्ता विषयमा रेडियो कार्यक्रम उत्पादन गर्न थालिन् ।

पुष्पा सहितको टिमले उत्पादन गरेको रेडियो कार्यक्रम ‘ख्याल’ रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र सुर्खेतबाट हरेक हप्ता प्रसारण हुन थाल्यो । कार्यक्रम यति लोकप्रिय भयो कि समुदायको प्रशंसाबाट दंग पुष्पाले पत्रकारितामै करिअर देखिन् ।

त्यति नै बेला कैलालीको घोडाघोडी एफएममा कार्यक्रम सञ्चालकको जिम्मेवारी पाइन् । २०६१ सालमा घोडाघोडी एफएममा आबद्ध भइन् । एफएमका लागि समाचार तयार पार्ने, समाचार पढ्ने र कार्यक्रम उत्पादन गर्ने उनको काम हुनथाल्यो ।

२०६४ सालमा बर्दियाको गुरुबाबा एफएममा स्टेशन म्यानेजरको जिम्मेवारी सम्हालेकी उनी अहिलेसम्म सोही भूमिकामा रहेर सामुदायिक सञ्चारकर्मीको रूपमा थारू भाषा, संस्कृतिको प्रवर्द्धन र महिला सशक्तीकरणमा क्रियाशील छिन् । एफएम रेडियोको स्टेशन म्यानेजर भएर काम गर्ने पुष्पा सम्भवतः थारू समुदायकी पहिलो महिला पत्रकार हुन् ।

रेकर्डर, साइकल र समुदाय

समुदायको आवाज बुलन्द गर्न उनका लागि साइकल र रेकर्डर शक्तिशाली हतियार बने । घन्टौं साइकल चलाएर उनी कैलाली र बर्दियाका अधिकांश गाउँबस्तीदेखि कमैया शिविरसम्म पुगेकी छिन् । उनले आफ्नो जीवन समुदाय र सदस्यहरूको कथा–व्यथा उनीहरूकै भाषा र शैलीमा रेकर्ड गर्दै रेडियोबाट प्रसारण गरिन् ।

‘गाउँबस्तीमा बस्ने पछाडि परेका परिवारका महिलाहरूको आवाज उनीहरूकै भाषा र शैलीमा रेडियोबाट बजाउने माध्यम बन्न पाउँदा धेरै खुसी लाग्छ’ पुष्पा भन्छिन्, ‘म बर्दिया र कैलालीका लगभग सबै गाउँबस्ती पुगिसकेकी छु र फिल्डमै गएर रिपोर्टिङ गर्नुको मज्जा नै बेग्लै हुन्छ ।’

रिपोर्टिङको क्रममा भेट भएका श्रोताहरू गाउँबस्तीबाट पुष्पालाई खोज्दै रेडियोको कार्यालयसम्मै आइपुग्छन् । उनी स्टुडियोमा लगेर उनीहरूसँग छलफल गर्छिन् । आफूले बोलेको कुरा रेडियोमा बज्दा श्रोताले खुसी/सफलता र दुःख/समस्या साट्न पाउँछन् भन्ने पुष्पालाई लाग्छ ।

आफूले गरेको कामको समुदायबाट मात्रै नभएर विभिन्न संघ–संस्था र सरकारी कार्यालयहरूले समेत प्रशंसा गर्दा काम गर्न ऊर्जा थपिने पुष्पा बताउँछिन् ।

उनले नेपाल प्रेस इन्ष्टिच्युट क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगञ्ज, थारू पत्रकार संघ, महिला तथा बालबालिका कार्यालय बर्दिया, अन्तर्राष्ट्रिय महिला दिवस आयोजक समिति लगायत विभिन्न संघ–संस्थाबाट सम्मान र पुरस्कार पाइसकेकी छन् ।

‘योभन्दा पनि श्रोताबाट पाउने धन्यवाद नै मेरो सबैभन्दा ठूलो आर्जन हो । पछिल्लो समय विभिन्न संघ–संस्था र सरकारी कार्यालयहरूले पनि थारू समुदायका लागि धेरै राम्रो काम गरेको भनेर पुरस्कार र सम्मान दिन्छन्, जसले ममाथि जिम्मेवारी थपिएको महसुस हुन्छ’, उनी भन्छिन् ।

समुदायको आवाजलाई प्रभावकारी रूपमा उठाउँदै आएकी पुष्पा पछिल्लो समय सामुदायिक रेडियो प्रसारक संघ, आदिवासी जनजाति पत्रकार संघ, सञ्चारिका समूह, थारू पत्रकार संघ लगायत पत्रकारहरूका संघ–संस्थाहरूमा आबद्ध छिन् ।

एउटी महिलाले त्यो पनि पूर्णकालीन समय पत्रकारितामा बिताउनु भनेको चुनौतीपूर्ण काम हो । पत्रकारिता रोज्दा परिवारबाट हौसला नै पाएकी पुष्पाले पारिवारिक सहयोग र समर्थनकै कारण यो पेशालाई निरन्तरता दिन सकेकी छन् । काम सँगसँगै अध्ययनलाई पनि अगाडि बढाएकी पुष्पाले पत्रकारितामा स्नातकोत्तर गरिरहेकी छन् ।

‘अहिले त पत्रकारिता मेरो प्यासन नै भइसकेको छ, आवाजविहीनहरूको आवाज रेडियोबाट बजाउन पाउँदा दिनभरको थकाइ उत्साहमा परिणत हुन्छ’ उनी भन्छिन्, ‘पत्रकारितालाई निरन्तरता दिनकै लागि मैले विवाह पनि गरिनँ । यसमा मलाई कुनै पछुतो पनि छैन । आजका दिनसम्म खुसी छु ।’

भाषा संस्कृतिको सारथि

२ साउन २०५७ मा सरकारले कमैया र कमलरी प्रथा अन्त्यको घोषणा गर्‍यो । कमैयाहरूलाई जग्गा दिने, विभिन्न स्थानमा शिविर बनाएर बसोबासको व्यवस्था मिलाउने काम पनि थाल्यो ।

तर जंगल र खोलाका किनाराहरूमा बसालिएका शिविरहरूमा न्यूनतम आधारभूत सुविधा थिएन । शिविरमा बस्ने कमैया परिवारका सदस्यहरूले खेप्नु परेको आवास, खानेपानी, विद्युत्, शिक्षा र रोजगारीका समस्याले पुष्पालाई छोयो । उनले बर्दिया र कैलालीका दर्जनौं कमैया शिविरमा पुगेर रेडियो रिपोर्ट उत्पादन/प्रसारण गरिन् र सरोकारवालाहरूलाई झकझक्याइन् ।

जनप्रतिनिधि, भूमिसुधार, मालपोत, सुकुम्बासी आयोग, वन, विद्युत् खानेपानी लगायत सरकारी अड्डासँग शिविरमा बस्ने मुक्त कमैया परिवारले खेप्नुपरेका समस्याहरूका बारेमा पटक–पटक प्रश्न गरिन् । उनीहरूलाई जवाफदेही बनाउने प्रयास जारी राखिन् । त्यो क्रम अझै जारी छ ।

थारू समुदायका छोरीहरूको विद्यालयसम्म पहुँच बढाउन पुष्पाले छोरीहरू र उनका अभिभावक, शिक्षक, सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधिसँग निरन्तर समन्वय र सहकार्य गर्दै आएकी छिन् ।

पछिल्ला दिनमा थारू बहुल बस्तीका विद्यालयमा छोराभन्दा छोरीको संख्या धेरै हुन थालेको छ । विद्यालयमा छोरीको संख्या बढाउने अभियानमा जोडिएर काम गर्ने अवसर पाएको बताउँदै पुष्पा भन्छिन्, ‘छोरीहरूले पढाइमा राम्रो गरेको देख्दा धेरै नै खुसी लाग्छ ।’

लेखपढ गर्न नपाएका, घरमै बस्ने खेतीपाती र ज्याला मजदुरी गर्ने महिलाका लागि प्रौढ शिक्षा सीपमूलक तालिमका अवसरहरू जुटाएर उनीहरूलाई सक्षम बनाउने अभियानमा पनि पुष्पा सक्रिय छिन् । रेडियोका कार्यक्रम मार्फत र अभियानमा सहभागी भएर दुवै तरिकाले उनी यो अभियानमा छन् ।

थारू समुदायमा कानुन जत्तिकै मानिएको मौलिक छ– बडघर प्रथा । गाउँलेहरू भेला भएर माघीमा गाउँको अगुवा चुन्छन् । ती निर्वाचित अगुवालाई बडघर भनिन्छ । बडघरले जनप्रतिनिधिसँग समन्वय गर्ने, सानातिना झैझगडा समाधान गर्ने लगायत समुदायमा सामाजिक, सांस्कृतिक र आर्थिक सद्भाव कायम राख्न भूमिका निर्वाह गर्छन् ।

थारूबहुल गाउँमा पुरुष मात्रै बडघर चुनिने अभ्यास अहिले बदलिंदै गएको छ । महिला बडघर चुनिन सक्ने परिस्थितिको निर्माण कम चुनौतीपूर्ण काम थिएन । समुदायका अगुवाको विश्वास जितेर महिलालाई बडघर बनाउने अभियानलाई सफलता दिलाउने कार्यमा पुष्पाले धेरै नै मिहिनेत गरेको प्राचीन सृजनशील आदिवासी समाज बर्दियाका अध्यक्ष राम लौटन चौधरी बताउँछन् ।

पुष्पा र उनका सहकर्मीले महिलालाई बडघर बन्न प्रेरित गर्दै अभियान नै चलाइरहेका छन् । पछिल्ला वर्षहरूमा बर्दिया र कैलालीका थारूबहुल बस्तीहरूमा धमाधम महिला बडघर चुनिन थालेका छन् ।

महिला बडघर चुनिंदाको केही विशेष फाइदा पनि छन् । बालविवाह न्यूनीकरण र मादक पदार्थ नियन्त्रणमा उल्लेख्य प्रगति हुन थालेको छ ।

‘हाम्रो अथक् प्रयासले बर्दिया र कैलालीमा करिब ५० देखि ६० महिला बडघर चुनिएका छन्’ उनी भन्छिन्, ‘केही वर्ष पहिलासम्म अर्काको घरमा कमैया र कमलरी भएर काम गर्न बाध्य थारू महिला अहिले समुदायकै अगुवा भएर नेतृत्व गरिरहेका छन् ।’ यसले गाउँबस्तीको विकास निर्माण तथा महिला सशक्तीकरणमा ठूलो टेवा पुगेको पुष्पाको भनाइ छ ।

महिलालाई बडघर बनाउनेसँगै बडघर प्रथालाई कानुनी मान्यता दिलाउने अभियानमा बर्दियाका थारू समुदायका अगुवा एकराज चौधरीसँगै पुष्पा पनि सक्रिय छिन् ।

थारू समुदायका अगुवाहरूसँग समन्वय र सहकार्य गरेर थारू बाहुल्य भएका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा बडघर प्रथालाई कानुनी मान्यता दिने अभियान सुरु भएको छ ।

यसको पक्षमा जनमत सिर्जना गर्न रेडियो कार्यक्रमहरू उत्पादन गर्ने, सरोकारवालासँग संवाद गर्ने, बडघर प्रणाली सम्बन्धी कानुनी प्रावधानको मस्यौदा तयार पार्ने, जनप्रतिनिधिहरूसँग समन्वय र सहकार्य गरेर त्यसलाई स्थानीय तहबाट कानुनी मान्यता दिलाउने अभियानमा उनी सक्रिय छिन् ।

सबै क्षेत्रको सहयोग र समन्वयबाट बर्दियाका चारवटा स्थानीय तहमा बडघर प्रणालीले कानुनी मान्यता पाएको छ । अन्यत्र पनि कानुन बन्ने र कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढेको छ ।

‘बडघर प्रणालीले कानुनी मान्यता पाउनु थारू समुदायका लागि ठूलो उपलब्धि हो’ पुष्पा भन्छिन्, ‘त्यो अभियानमा सक्रिय भएर सहभागी हुन पाउँदा म धेरै खुसी छु ।’

प्राचीन सृजनशील आदिवासी समाज बर्दियाको कोषाध्यक्ष समेत रहेकी पुष्पा थारू समुदायका अगुवाहरूसँग सहकार्य गरेर थारू जातिको भाषा, संस्कृति र परम्पराको अभिलेखीकरण गर्ने अभियानमा पनि छिन् ।

वरिष्ठ सञ्चारकर्मी एवं थारू सांस्कृतिक अनुसन्धानकर्ता एकराज चौधरीसँग सहकार्य गरेर पुष्पाले मुलुकी देवानी संहिता २०७४ लाई थारू भाषामा अनुवाद गरी समाजमा निःशुल्क वितरण गरिरहेकी छन् ।

समाजले बर्दियाको बाँसगढीमा करिब ६ कट्ठा जग्गामा आफ्नै चारतले पक्की भवन निर्माण गरेर त्यसै भवनबाट रेडियो गुरुबाबा एफएम सञ्चालन गर्दै आएको छ ।

पुष्पा त्यही भवनमै थारू जातिको भाषा, संस्कृति र परम्पराको किताब सहित विभिन्न गीत, संगीत, नृत्य र झाँकीहरूको फोटा, अडियो, भिडियो तयार पारेर राख्ने अभियानमा पनि लागेकी छन् ।

‘कामविशेष संसारका विभिन्न देशमा पुगेका थारू जातिका युवाहरूले आफ्नो भाषा, संस्कृति र परम्परा सम्बन्धी कुनै जानकारी लिन चाहेमा इन्टरनेटका माध्यमबाट जोडिएर सहजै पाउने गरी संग्रहालय सञ्चालन गर्ने तयारीमा छौं’, उनी भन्छिन् ।–अनलाइन खबरबाट

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ