२१६ वर्ष पुरानो मन्दिरमा भजन प्रतियोगिता

तम्घास । गुल्मीमा पछिल्लो समय हराउँदै गएको भजन संरक्षण गर्न प्रतियोगिताको आयोजना गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–५ स्थित कालिका मन्दिर व्यवस्थापन समितिले धुर्कोट गाउँपालिकास्तरीय भजन प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा पाँच समूहले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा वडा नं ५ वस्तु प्रथम, वडा नं २ पीपलधारा द्वितीय एवं वडा नं ४ जैसिथोक र वडा नं १ नयाँगाउँ तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १३, १२ र ११ हजार प्राप्त गरेका छन् ।

कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिले मन्दिरको रेखदेख, संरक्षण, प्रचारप्रसार र धार्मिक अनुष्ठानका कामहरू गर्दै आएको छ ।

आफूहरूले गर्ने दैनिक नित्यकर्मसँगै मन्दिरको महत्वलाई प्रचार–प्रसार गर्न थप रचनात्मक कामहरू गर्दै लैजाने कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष युवराज भण्डारीले बताए ।

धुर्कोट–२ पीपलधाराको बरजा टोल संरक्षण समितिका महिला चैत्र अष्टमीका दिन कालिका मन्दिरको भजन प्रतियोगितामा सहभागी भएका थिए । उनीहरूको १० जनाको समूह छ । गाउँमा व्यावसायिक रूपमा भजन गाउँछन् । गाउँमा पूजा हुँदा, लाहुरे आउँदा र मेला उत्सवमा भजन गाउने चलन छ ।

दिउँसो र राति ११ बजेसम्म भजन गाउने समिति सदस्य कमला खड्काले बताए । गाउँमा भजन गाउने पुरुष कम छन् । त्यसैले वडाभित्र र बाहिर पनि माग भइरहेको छ । उनीहरूले न्यूनतम पाँच हजार पारिश्रमिक पाउँछन् ।

धुर्कोट –४ जैसीथोकका ५५ वर्षीय लोकनाथ पोखरेल भजन समूहमा मजुरा बजाउँछन् । बैँसबाटै भजन गाउन हिँथे । समूहमा एकै उमेर समूहका सातजना छन् । मौलिकतामा जोड दिने रौताडीको भजन समूह स्थापित छन् । उनीहरू हरेक उत्सव र प्रतिस्पर्धामा पुग्छन् ।

“दिउँसो ३ बजेदेखि रातभर भजन गाएर उज्यालो बनाएका कैयन याद छन्,” उनले भने, “गाउँमा समूहलाई न्यूनतम १२ हजार पारिश्रमिक दिन्छन् ।” भजन महोत्सव वा प्रतिस्पर्धाहरूले कला संरक्षण, ऊर्जा र जान्ने अवसर प्रदान गर्ने पोखरेलले बताए ।

दुई सय १६ वर्ष पुरानो मन्दिर

धुर्कोट गाउँपालिका–५ वस्तुको धुर्कोट कालिका मन्दिर दुई सय १६ वर्षअघि स्थापना भएको हो । हिमालय माविका प्रधानाध्यापक कृष्ण भण्डारीका अनुसार विसं १८६२ सालमा धुर्कोटे राजा खड्गराज मल्लले कालिका मन्दिर स्थापना गरेपछि आशीर्वाद मागेर शासन सुरु गरेको इतिहास छ ।

यो मन्दिर अनौठो पनि छ । एउटा छानाभित्र काली र शिवका मूर्ति राखिएका छन् । यो विरलै मन्दिरमा हुने गर्दछ । दैनिक नित्यकर्मसहित चैते र बडासैँमा मन्दिरमा विशेष मेला लाग्छ ।

वाचन सम्राट पण्डित भीमकान्त पन्थीका अनुसार शिव मन्दिरमा बलि चढ्दैन तर काली अर्थात् दुर्गालाई बलि दिने चलन छ । काली मन्दिरको पूर्वपट्टि र शिव दक्षिणतर्फ भएकाले कालीको सम्मुखमा मात्र बलि दिइँदै आएको पन्थीले बताए ।

यो मन्दिर र धुर्कोट कोतसँग नजिकको सम्बन्ध रहेको छ । हरेक उत्सवमा कालिकाको पूजा गरेर मात्रै धुर्कोट कोटमा पूजा गरिँदै आएको छ । पण्डित पन्थीले बाग्लुङ कालिका र धुर्कोटको कालिका मन्दिरमा कुनै फरक नभए पनि प्रवद्र्धन र प्रचारप्रसार गर्न नसक्दा ओझेलमा परेको बताए ।

केही वर्ष पहिलेसम्म चैते र बडादसैँमा दर्शनार्थीको बाक्लो उपस्थिति हुन्छ । अहिले निकै कम मात्रामा श्रद्धालु भक्तजन मन्दिरमा मेला भर्न आउँछन् । बसाइँसराइले मान्छे गाउँमा छैनन् ।

गाउँमै भएकाहरू पनि पहिलेजस्तो मेला–उत्सवमा पुग्न जाँगर गर्दैनन् । मन्दिर हिमालय माविको प्राङ्गण र सडकको नजिक छ । अहिले आर्थिक समृद्धिका लागि धार्मिक पर्यटन गतिलो माध्यम बनेको छ ।

ऐतिहासिक धुर्कोट कोत, कालिका मन्दिर र नजिकैको विचित्र गुफाको एकीकृत विकास र प्रचारप्रसारको आवश्यकता रहेको स्थानीय अगुवा नरहरि भण्डारीले बताए । अधिकांश घर खाली भइसकेका छन् । वृद्धहरूले मात्र कुरेका घरहरू पनि केही समयमै रित्ता हुने सम्भावना धेरै रहेकाले थप चुनौती रहेको उनले बताए ।

७२ लाख खर्च गरेर जीर्णोद्धार

सवा दुई सय वर्ष पुरानो भएकाले मन्दिर जोगाउन स्थानीयलाई गाह्रो थियो । पछिल्ला वर्षहरूमा भने मन्दिरको जीर्णोद्धारसँगै आस्थाको उजागर गर्न तीनै तहका सरकार र स्थानीयको सहयोगमा करिब ७२ लाख खर्च गरेर मन्दिरको पुरानै ढाँचामा जीर्णोद्धार गरिएको धुर्कोट गाउँपालिका–५ का वडाध्यक्ष केशवराज भण्डारीले बताए ।

कालिकाको गरिमालाई उजागर गर्न अहिले धार्मिक अनुष्ठानसहित चैत्राष्टमीमा भजन महोत्सव राखिएको भण्डारीले बताए । धुर्कोट गाउँपालिकामा ऐतिहासिक तथा पर्यटकीय स्थलहरू प्रशस्त छन् । तीनै तहको लगानीमा धार्मिक तथा पर्यटकीयस्थलहरूको संरक्षण र विकासको काम भइरहेको छ ।

धुर्कोटका धार्मिकस्थलहरूलाई छिमेकी पालिका तथा जिल्लाहरूका पर्यटकीय स्थलसँग जोडेर अगाडि बढाउनुपर्नेमा धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले बताए ।

उनले धुर्कोटको धार्मिक अवस्था केन्द्र कालिका मन्दिरलाई थप व्यवस्थित र प्रचार गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ